काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताएका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्दै पार्टी विधान पद्धतिमा नचलेको बताएका हुन् ।
समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आज समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेनद पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिए ।
समूह ९ का नेता चौधरीले सरकारका काम धेरै भए पनि प्रचार हुन नसकेको आफ्नो प्रतिवेदनमा समेटेको जानकारी दिए । ‘सरकारका कामको प्रचार हुन नसक्दा सरकारले काम गरेको देखिएको छैन’, उनले भने, ‘स्थानीय तहमा बढी भ्रष्टाचार रहेकाले नियन्त्रण गर्नुपर्ने हाम्रो समूहको सुझाव छ, शनिबार ११ समूहका नेताले प्रतिवेदन पेश गर्नेछन् । ‘
समूह ११ का नेता राजेन्द्र राईले पार्टी नीति पद्धतिमा नचलेको र सङ्गठनमा पार्टी नेतृत्वबाट गुटबन्दी भएको सुझाव आएको बताए । उनको प्रतिवेदनमा पार्टी विधान र केन्द्रीय सर्कुलरलाई उल्लङ्घन गरिएको उल्लेख छ । पार्टीका दिवङ्गत नेताका नाममा खोलिएका प्रतिष्ठान फाउन्डेशन, अध्ययन केन्द्र खुलेका र त्यसले पार्टीलाई फाइदा नपुर्याई गुटबन्दी बढाएकाले बन्द गर्नुपर्ने उनको समूहको प्रतिवेदनमा उल्लेख छ ।
‘नेताको योगदानको कदर गर्नुभन्दा गुट चलाउन खुलेको देखियो, हाम्रो समूहले त्यस्ता प्रतिष्ठान, फाउन्डेशन र अध्ययन केन्द्र बन्द गर्नुपर्ने सुझाव दिएका छौँ’, उनले भने, ‘चलाउने हो भने पार्टीको निर्णयमा चलाउनु पर्दछ ।’ यसैगरी समूह ७ का उपनेता निरज आचार्यले पनि त्यस्ता नेतापिच्छे खोलिएका प्रतिष्ठान प्रदेश, जिल्लासम्म सङ्गठन विस्तार गरी पार्टीका समानान्तर गतिविधि सञ्चालन गरेकाले पार्टीको विधानमा नै व्यवस्था गरेर नियन्त्रण र नियमन गर्नुपर्ने सुझाव दिइएको बताए ।
सरकार र पार्टीको तालमेल नमिलेको पनि प्रतिवेदनमा समेटिएको छ । सरकारका लोकप्रिय काम सञ्चालन नभइरहेका, सरकारका कार्यसम्पादनमा जनता र पार्टी सन्तुष्टि हुन नसकेको पनि सबै समूहले प्रतिवेदनमा औँल्याएका छन् । ‘पार्टीको निर्देशन सरकारले मान्नुपर्यो, पार्टी नीति पद्धतिमा चलेको छैन’, समूह ११ का टोली नेता राईले भने, ‘सरकारका विषयमा केहीले राम्रो गरेका छन् भनेको र केहीले सरकारले राम्रो काम गर्न सकेन भनेका छन्, चुनावको घोषणापत्रअनुसार सरकारले काम गर्न सकेन भन्ने प्रतिवेदनमा समेटिएको छ ।’
एमसिसीको समर्थन र विरोध
बैठकमा मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) केन्द्रीय सदस्यले मिश्रित सुझाव दिएका छन् । समूह ९ का नेता चौधरीले आफूहरुले एमसिसी अगाडि बढाउन सुझाव दिएको बताए । उनले संविधान र राज्यको हित विपरीतमा सम्झौता नगरी एमसिसी अगाडि बढाउन सुझाव दिएको जानकारी दिए । समूह ५ का नेता ठाकुर गैरेले एमसिसीका बारेमा समूहका सदस्यका फरक फरक मत आएका बताए ।
‘थोरै सदस्यले पास गरेर जानुपर्ने सुझाव दिएका छन्, राष्ट्रलाई फाइदा हुन्छ भने पास गरेर जानुपर्दछ भन्ने सुझाव दिएका छन् । ‘, उनले भने, ‘केहीले यथास्थितिमा पास गर्नुहुँदैन, यसको राम्रो अध्ययन गरेर मात्र पास गर्नुपर्दछ, नेपालको सार्वभौमसत्तालाई खलल पुग्ने प्रावधान रहेका छन्, ती खारेज गरेरमात्र पास गर्नुपर्दछ ।’ समूह ७ एमसिसीका बारेमा मौन बसेको छ । बैठकले एजेन्डा बनाएर आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी नेता र विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्न सुझाव दिएको छ ।
विधानअनुसार चलेन
विधानअनुसार पार्टी सञ्चालन नभएको समूह नेताले सुझाव दिएका छन् । धेरैजसो समूहले पार्टीमा समावेशी नभएको सुझाव दिएका छन् । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पार्टी विधानअनुसार ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने सुझाव दिइएको छ । प्रतिवेदन प्रस्तुत गर्दै समूह ९ का नेता चौधरीले केन्द्रमा सचिव र प्रदेशमा पनि उपाध्यक्ष राख्नुपर्ने सुझाव दिएको बताए । यसैगरी पार्टीमा केहीलाई दोहोरो जिम्मेवारी र कसैलाई केही पनि जिम्मेवारी नभएकाले सबैलाई योग्यता, क्षमताअनुसार जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।
समूह ७ ले सङ्गठनमा बहुपदीय पदाधिकारी बनाउन माग गरेको छ । महिला उपाध्यक्ष एकजना थप्नसमेत सुझाव दिइएको छ । यसैगरी प्रतिवेदनमा पोलिटब्यूरो, केन्दीय आयोग, निकाय र विभागलाई चाँडै नै पूर्णता दिनसमेत सुझाव दिइएको छ । योग्यता, क्षमता र रुचि अनुसारको कार्यविभाजन नभएको समूह नेताले सुझाव दिएका छन् । पार्टी केन्द्रीय सदस्यलाई पूर्णकालीन खर्च उपलब्ध गराउने भने पनि नदिइएकाले उपलब्ध गराउन माग गरिएको छ ।
समूह १४ का टोलीनेता सुरेन्द्रबहादुर कार्कीले पार्टीका नयाँ संवाद शुरु भएको बताए । उनले बैठकले विचारको बहस शुरु गरेकाले यसलाई तल्लो तहसम्म पुर्याउनुपर्ने बताए । नेता सुरेन्द्र पाण्डेले पार्टी विधिबाट चल्ने भएकाले राजनीतिक नियुक्त पार्टीले गर्नुपर्ने बताए । ‘पार्टीले नै सरकार चलाउने हो’, उनले भने, ‘पार्टीले सरकार चलाउने भन्नेमा हामी छलफल चलाइरहेका छौँ ।’ बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।