राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ : प्रधानमन्त्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ : प्रधानमन्त्री


१६ माघ २०७६, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको बताएका छन् । उनले वसन्त पञ्चमी(श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिँदै राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको र सुख खुशीसँग जोडिएको बताएका हुन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा दिदीबहिनी तथा दाजुभाइमा सरस्वती पूजाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा गरिँदै आएको यस पर्वका अवसरमा काब्यविनोदीः स्रष्टा, सर्जक, साहित्य, संगीत, कला साधक तथा ज्ञानका अध्येताहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

उनले आजको दिनलाई स–साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइने बताएका छन् । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाईंदै आएको यस पर्वको प्राकृतिक काल विभाजनसँग पनि सम्बन्ध रहेको उनले बताए ।

एक वर्षलाई ६ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको उनले बताए । ‘वसन्त ऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । सन्देशमा भनिएको छ,‘वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रंगीन पुतलीहरुको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ ।’

‘वैदिक मान्यता अनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । त्यसैले उनको बीणाबाट ब्रह्माण्डमा स्वर, संगीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ । उनले सरस्वतीलाई मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेको बताए । असल वा खरावको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइने उनको भनाइ छ ।

उनले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको स्पष्ट पारेका छन् । ‘राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ । हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै छौं । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षा पूरा हुनेछ ।’ सन्देशमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस