काठमाडौं । स्वर्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
कलाकार क्षत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा अभिनेता केशव भट्टराईको आइतबार राति निधन भएको थियो । अन्तिम संस्कार भने आजै पशुपति आर्यघाटमा एकै समयमा भएको हो ।
कलाकारद्वयलाई श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए ।
सो क्रममा उनले स्वर्गीय भट्टराई र क्षतिको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।
यसअघि भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको थियो ।
उनीहरुलाई श्रद्धाञ्जली दिन कलाकार तथा केही नेताहरु पनि पुगेका थिए । भट्टराईको हिजो बेलुका सवा १० बजे निधन भएको थियो । भट्टराईको हृदयाघातका कारण ज्यान गएको डाक्टरले बताएका छन् ।
३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराई एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।
आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला लगायतका चलचित्र निर्माण गरेका भट्टराईले दर्जनौँ चलचित्रमा अभिनय समेत गरेका छन् ।
करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षीय भट्टराई एक पत्नी र छोरा रहेका छन्।