काठमाडौं । थानकोट नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास कात्तिक पहिलो साता हुने भएको छ । काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रुपमा रहेको थानकोट नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास कात्तिक ४ गते हुने कार्यक्रम तय भएको हो ।
सुरुङमार्ग निर्माणको शिलान्यास प्रधानमन्त्री केपीशर्मा खोलीले गर्ने छन् । शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदुत, जाइकाका उच्च प्रतिनिधि, नेपालसरकारका उच्च् पदस्थ अधिकारीहरु लगायतको सहभागिता रहने जनाइएको छ ।
सुरुङमार्ग निर्माणका लागि भएको सम्झौतापत्रको कपी अन्तिम स्वीकृतिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई पठाइसकिएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले बताएका छन् । अबको दुई दिनभित्र जाइकाको स्वीकृतिपत्र नेपाल आइपुग्नेछ । स्वीकृतिपत्र आउने निश्चित भएकाले शिलान्यासको कार्यक्रम तय भएको आयोजना प्रमुख खरेलले बताएका छन् ।
यो सुरुङमार्ग निर्माणका लागि असोज ६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको थियो ।
महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र हाज्मा एन्डो कर्पोरेसनका व्यापार प्रवर्द्धभन विभाग, अन्तर्राष्ट्रिय महाशाखाका महाप्रबन्धक कियोसी हिरोसेकबीच सम्झौता भएको थियो ।
दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सो सुरुङमार्ग अबको ४२ महिनाभित्र सम्पन्न हुनेछ । करसहित करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।







