काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज(आइतबार) नेपाल आउँदैछन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै आउन लागेका वाङ यीको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।
पाकिस्तान हुँदै नेपाल आउने आउने वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।
विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ ।
भेटमा नेपाल–चीन द्धिदेशीय सम्बन्ध तथा विगतमा गरिएका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा छलफल हुनेछ । वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो ।