काठमाडौं । बैंङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ वैशाख १६ गतेको फैसलाले १ महिना कैद र २३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४२ वर्षीय प्रमोद कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।
आर्थिक ब्यबहार मिलाउने भन्दै खड्काले प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रयाप्त रकम हुँदै नभएको नेपाल एसबिआई बैंक शाखा कार्यालय गोंगवुको खाताको चेक फिर्ता भएको अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ ।
खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि बुधबार कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।