प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा.गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
विराट व्यापार संघको १०औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले यस क्षेत्रका जनतालाई आवश्यक पर्ने वस्तु उत्पादन गरी सहज ढङ्गले उपलब्ध गराउन आग्रह गरे ।
प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुशियतले मुलुकलाई समृद्ध बनाउन उद्योगी व्यापारीको ठूलो योगदान रहने बताउँदै व्यापारी वर्गका समस्या समाधानमा प्रदेश सरकार सहयोगी हुने विश्वास दिलाए ।
युवा संघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेत, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले सबैको साझा सङ्गठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध बनाउन ठूलो योगदान रहेको विचार व्यक्त गरे ।
संघका अध्यक्ष शिवप्रसाद रिजाल, टोल सङ्गठनका अध्यक्ष राजु मास्के सम्मानित उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका बजारमा सस्तो मूल्यमा सामान उपलब्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको विचार व्यक्त गरे ।
सो अवसरमा प्रदेश प्रमुख प्रा डा.तुम्बाहाङले उद्यमी ताराचन्द खेतान, संघका पूर्वअध्यक्षलगायत सदस्यलाई सम्मान गरेका थिए ।