सफ्टवेयरबाटै स्वास्थ्य सेवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सफ्टवेयरबाटै स्वास्थ्य सेवा


२२ बैशाख २०७६, आइतबार


बाग्लुङ । जिल्लाको बागलुङ नगरपालिका –१४ स्थित नारायणस्थान स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनताको स्वस्थ्य अवस्था जानकारी लिनका लागि सफ्टवेयर प्रविधि प्रयोगमा ल्याएको छ ।

सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० कोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ । ८० हजारको लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले ४० हजार र वडा कार्यालयले ४० हजार विनियोजन गरेको थियो ।

सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी दिनेछ । बालबालिकाले खोप लगाए/नलगाएको, पोेषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, क्यान्सर, उमेरअनुसारको जनसङ्ख्यालगायतका विषयमा जानकारी राखिने स्वास्थ्यचौकी प्रमुख ऋषिराम शर्माले बताए ।

हरेक सङ्घसंस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने नगरपालिकाको योजनाअनुसार सफ्टवेयर सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “हामीले स्वास्थ्यचौकी तहमा नै सफ्टवेयर निर्माण गरी प्रत्येक जनताको स्वास्थ्य अवस्था जानकारी राख्न लागेका छौँ”, पौडेलले भने, “देशकै एउटा नमूना काम भएको र आगामी वर्षमा यस प्रविधिलाई पालिकाका अन्य स्वास्थ्य संस्थामा समेत लागू गराउन प्रयत्न गरिने छ ।” एक वर्षको निरन्तर अभ्यासपछि वडामा रहेका रोगीका आधारमा स्वास्थ्य सेवा प्रदान गर्नलाई ‘वेब वेस हेल्थ प्रोफाइल’ नामक सफ्टवेयर निर्माण गरिएको चौकी प्रमुख शर्माले बताए।

सफ्टवेयरमा वडाभरका व्यक्तिको रोगको विवरण राखिने भएकाले स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य योजना निर्माणका लागि सहयोग पुग्नेछ । “वडामा कस्ता विरामी बढी छन् त्यसैलाई केन्द्रित गरेर सेवा प्रदान गर्न सफ्टवेयरले सहयोग पुग्नेछ”, शर्माले भने । स्वास्थ्य सेवाका बारेमा केही जानकारी लिनुपरेमा सफ्टवेयरका माध्यमबाट तुरुन्त पत्ता लाग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस