काठमाडौं । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले यसैसाता राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनबाट देशको औद्योगिक उन्नयनमा ऊर्जा थप्ने विश्वास निजी क्षेत्रका उद्यमी व्यवसायीले व्यक्त गरेका छन् ।
संघीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलोपटक स्थिर सरकार गठन भएको परिप्रेक्षयमा हुन लागेको लगानी सम्मेलनलाई उनीहरूले समृद्धितर्फको अबको यात्रामा सहयोगी माध्यम बन्नसक्ने बताएका छन् । अनुभव, सीप र दक्षता आदानप्रदान र उद्योगका लागि दीर्घकालीन रुपमा पूँजी जुटाउन आयोजना भएको लगानी सम्मेलनलाई उनीहरूले स्वर्ण अवसरको संज्ञा दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तथा स्वदेशमा नै धेरैभन्दा धेरै रोजगारीका अवसर सृजनाका निम्ति नीतिगत एवं प्रक्रियागत सुधार गर्दै लगानीको वातावरण तयार गर्न सरकारीस्तरबाट भएका प्रयासको सराहना गर्छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई मूर्तरुप दिन वर्तमान सरकारका प्रमुखबाट भएको अथक प्रयास, त्यसमा निजी–सार्वजनिक क्षेत्रले देखाएको तत्परताले सकारात्मक परिणाम देखाएको उनको ठम्याइ छ ।
सरकारको नेतृत्व लिएको दिनदेखि नै देशको आर्थिक विकासलाई केन्द्रमा राखेर स्वदेशी तथा विदेशी लगानीकर्तालाई पर्याप्त प्रतिफल प्राप्त हुने क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका प्रधानमन्त्री ओलीले सधैँसधैँ सबैलाई झक्झक्याएको अध्यक्ष राणा स्मरण गर्छन् । ‘डाभोस् होस् वा न्यूयोर्क विदेश भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न गरेको आह्वानले नेपालको निजी क्षेत्र उत्साहित छ,’ उनले भन्छन् ।
नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा यही शुक्रबार र शनिबार हुने सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगलगायत ७७ वटा परियोजनामा लगानी जुटाउने प्रयास हुनेछ ।
विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान सम्मेलनमा हुने विषयबाट आफूहरू उत्साहित भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउछन् ।
‘लगानी सम्मेलनप्रति विदेशीले अभिरुचिका साथ हेरेका छन् । ४० देशका ६०० लगानीकर्ताले सम्मेलनमा भागलिने प्रतिबद्धता व्यक्त गर्नुलाई नेपालमा भएको सुधार नै हो,’यसपटक नेपालमा रहेका कूटनीतिक नियोगबाट पनि सम्भावित लगानीकर्तालाई उत्प्रेरणात्मक रुपमा सन्देश प्रवाह भएको अनुभव सुनाउँदै उनले भने ।
विसं २०७३ मा आयोजित लगानी सम्मेलनपछि देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराउने अर्को उद्देश्य प्राप्तिमा सफलता मिल्ने ठान्छन् नेपाल उद्योग परिसघका अध्यक्ष हरिभक्त शर्मा ।
सरकार र निजीक्षेत्रको साझेदारीमा सम्मेलनलाई सफल पार्नुपर्ने र नकारात्मकभन्दा सकारात्मक समाचारलाई प्राथमिकताका साथ प्रवाह गरेर ‘नेपालमा साँच्चै लगानीको वातावरण बनेको’ सन्देश फैलाउन अपरिहार्य भएको उनको उनी बताउछन् ।
सम्मेलनको पूर्वसन्ध्यामा हुने अनौपचारिक बैठक, उद्यमी–व्यवसायीबीचको छलफल, दीर्घकालीनरुपमा नेपालमा लगानी ल्याउन गरिने व्यावसायिक वार्ता देशको विकासको मार्गचित्र निर्माणमा सहयोगी हुनेमा ढुक्क छन् ।
‘लगानी सम्मेलन नेपालमा लगानीको वातावरण बनेको छ, अब शङ्काउपशङ्का गर्ने स्थान छैन, लगानीको प्रतिफल स्वदेश लैजान असहज हुँदैन’ सम्मेलनको उद्देश्य आजको आजै लगानी जुटाउने र काम थालिहाल्ने नभएको स्पष्ट गर्दै भन्छन् ।
नेपालले लिएको आर्थिक वृद्धिको दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्याउन काठमाडौँस्थित विदेशी कूटनीतिक नियोग, नेपालको विकासका साझेदार, निजी क्षेत्र, गैरआवासीय नेपाली संघलगायतको सहयोग सम्मेलनमा रहनेछ ।
श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरीद नियमावली संशोधन भएकाले लगानीकर्ताले झण्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश प्रवाह सम्मेलनबाट हुने अपेक्षा गरिएको छ ।







