काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशअन्तर्गत सञ्चालन हुने सबै जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनसम्बन्धी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै अधिवेशन प्रक्रियामा देखिएका विवाद र झडपका कारण समग्र गतिविधि रोक्ने निर्णय गरिएको जनाएको छ। आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै निष्पक्षता, पारदर्शिता र विधिसम्मत प्रक्रियालाई सुनिश्चित गर्न यस्तो कदम चालिएको स्पष्ट पारेको छ।
निर्णयअनुसार प्रतिनिधि चयनदेखि लिएर निर्वाचन तयारी, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासम्मका सबै कार्यक्रम तत्काल प्रभावबाट स्थगित हुनेछन्।
केन्द्रीय निर्वाचन आयोग प्रमुख पुष्पन केसीले हस्ताक्षर गरेको सूचनामा रोकिएका गतिविधिहरू पुनः सञ्चालन गर्ने मिति, समय तालिका तथा कार्यविधि पछि औपचारिक रूपमा सार्वजनिक गरिने उल्लेख छ।
पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लामा नेतृत्व चयन प्रक्रियालाई लिएर विवाद चर्किएपछि संगठनभित्रको निर्वाचन प्रक्रिया स्थगित गर्ने निष्कर्षमा आयोग पुगेको बताइएको छ।
आयोगले पार्टीका सम्बन्धित नेता, कार्यकर्ता, प्रतिनिधि तथा उम्मेदवारलाई अर्को सूचना नआएसम्म प्रतीक्षा गर्न आग्रह गरेको छ।








