काठमाडौँ । मधेश प्रदेश सरकार अन्तर्गत लामो समयदेखि निमित्त सचिवका भरमा सञ्चालन हुँदै आएका पाँच मन्त्रालयमा प्रदेश सचिवको पदस्थापन गरिएको छ।
संघीय सरकारले गरेको सरुवा तथा प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि प्रशासनिक संरचनामा पुनर्संयोजन गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले प्रशासनिक नेतृत्व खाली रहेका मन्त्रालयहरूमा सचिव खटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव तथा सूचना अधिकारी रोहित कुमार कोइरालाले जानकारी दिएका छन् ।।
कोइरालाका अनुसार अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पार्वती शर्मालाई प्रदेश सचिवका रूपमा पदस्थापन गरिएको छ। यसअघि सो जिम्मेवारी सम्हालेका यमेन्द्र उपाध्याय लोक सेवा आयोगमा सरुवा भएपछि उक्त स्थान रिक्त भएको थियो।
त्यसै कार्यालयमा थप जिम्मेवारी स्वरूप महेश बराललाई समेत प्रदेश सचिवका रूपमा खटाइएको छ। प्रशासनिक समन्वय र कार्यसम्पादनलाई चुस्त बनाउने उद्देश्यले एउटै कार्यालयमा दुई सचिवको व्यवस्था गरिएको जनाइएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयमा लामो समयदेखि निमित्त सचिवमार्फत सञ्चालन हुँदै आएको अवस्थाको अन्त्य गर्दै सेवन्तक पोखरेललाई प्रदेश सचिवका रूपमा जिम्मेवारी दिइएको छ।
ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा प्राविधिकतर्फका होमनाथ पौडेललाई सचिवको जिम्मा दिइएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयमा ओमराज ढुंगानालाई प्रदेश सचिवका रूपमा पदस्थापन गरिएको छ।
त्यस्तै, अर्थ मन्त्रालयमा कार्यरत रामकुमार महतोलाई सोही मन्त्रालयमै यथावत् जिम्मेवारी दिइएको छ। अतिरिक्त समूहमा रहेका युवराज अधिकारीलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयमा खटाइएको छ।
उक्त मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेकी सुशील साहलाई उद्योग विभाग वीरगञ्जमा सरुवा गरिएको छ ।







