काठमाडौँ । विभिन्न राजनीतिक दलबाट नेपाली काँग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताको सदस्यता व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न पार्टीले १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले समायोजन प्रक्रियाबाट आएका सदस्यहरूको विवरण व्यवस्थित गर्न विभिन्न जिल्लामा जिम्मेवार प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलले गरेका थिए।
निर्णयअनुसार बारा जिल्लामा डा. गोपाल दहित, सिराहा जिल्लामा आंगेलु शेर्पा, धनुषा जिल्लामा अब्दुल सत्तार र सप्तरी जिल्लामा राजीव ढुंगाना खटाइएका छन्।
त्यसैगरी सोलुखुम्बुमा कुसुम थापा, सर्लाहीमा देवप्रसाद तिमिल्सिना, सुर्खेतमा तिलक रानाभाट र महोत्तरीमा प्रमोदहरि गुरागाईँलाई जिम्मेवारी दिइएको छ।
कपिलवस्तुमा टेकराज पौडेल, सुनसरीमा जगदीश नरसिंह के.सी., रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल तथा काठमाडौँमा ईश्वर अधिकारीलाई नवप्रवेशी सदस्यतासम्बन्धी समस्या समाधानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा परिचालन गरिएको छ।
पार्टीका अनुसार यी प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा नवप्रवेशीहरूको सदस्यता व्यवस्थापनलाई व्यवस्थित गर्ने र देखिएका विवाद समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्नेछन्। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले उक्त निर्णयबारे जानकारी गराएका हुन्।







