काठमाडौँ । संसदभित्रको भूमिका, सरकारको व्यवहार तथा संसदीय प्रक्रियाको कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले आगामी दिनमा अझ संगठित र कडा रूपमा प्रस्तुत हुने निष्कर्ष निकालेका छन्।
संसदीय गतिविधि समन्वयका लागि प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको संयुक्त छलफलपछि यस्तो धारणा सार्वजनिक भएको हो। छलफलमा सत्तापक्षीय व्यवहारले संसदीय मूल्य-मान्यतामाथि असर पारेको भन्दै गम्भीर चासो व्यक्त गरिएको बताइएको छ।
छलफलपछि प्रतिक्रिया दिँदै नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सरकार पक्षबाट संसदलाई उपेक्षा गर्ने प्रवृत्ति देखिएको आरोप लगाए। उनका अनुसार संसदमा विपक्षी आवाजलाई अवरोध गर्ने प्रयास र जबरजस्ती निर्णय अघि बढाउने शैलीबारे छलफल भएको छ। साथै, सभामुखको भूमिकाप्रति पनि प्रश्न उठेको उनले बताए।
महरले सरकारको व्यवहार संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियाको मर्म विपरीत रहेको भन्दै त्यसबारे साझा रूपमा समीक्षा गरिएको जानकारी दिए। उनका अनुसार संविधान कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतान्त्रिक प्रणाली सुदृढीकरणका लागि विपक्षी दलहरूबीच सहकार्य निरन्तर राख्ने सहमति भएको छ।
छलफलमा नेपाली काँग्रेसका प्रमुख सचेतक, नेकपाका प्रतिनिधि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरूको सहभागिता रहेको जनाइएको छ।







