काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको आरोपमा जुम्लाको पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार, न्यौपानेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकोले छानबिन गरी कारबाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनले श्री गंगा माध्यमिक विद्यालय, माथाचौर पेरेमा माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति पाउनको लागि त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी नियुक्ति लिएको पाइएको छ ।
नक्कली प्रमाणपत्रहरू पेस गरी लाभ एवं सुविधा लिएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।







