काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेस प्रदेश सभा सदस्यमा निर्वाचित सरिताकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार समावेशी समूहअन्तर्गत मधेसी क्लष्टरको रिक्त रहेको प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ निवासी ठाकुर निर्वाचित भएकी हुन्।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५(१) बमोजिम निर्वाचित ठाकुरलाई रामअशिष यादव ले सोमबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा उनले संविधान तथा कानुनप्रति प्रतिबद्ध रहँदै जनताको सेवा र प्रदेशको समृद्धिका लागि जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नवनिर्वाचित सदस्य ठाकुरले मधेस प्रदेशमा सुशासन प्रवर्द्धन, विकास निर्माण तथा नागरिकको हकहित संरक्षणका विषयलाई प्राथमिकतामा राखेर भूमिका निर्वाह गर्ने धारणा समेत व्यक्त गरेकी छन्।







