काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई दबाबमा पार्ने वा हतोत्साहित गर्ने नीति र व्यवहारले मुलुकको अर्थतन्त्र मजबुत बन्न नसक्ने स्पष्ट पारेका छन्।
मुख्यमन्त्री आचार्यले व्यवसायीहरूलाई नियन्त्रण वा धरपकडमार्फत निरुत्साहित गर्दा आर्थिक गतिविधि कमजोर हुने र त्यसले समग्र विकासमा नकारात्मक असर पार्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा आइतबार सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै यसको संरक्षण र प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।
उनले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानमा प्रदेश सरकार सक्रिय रूपमा संलग्न रहेको भन्दै विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले समन्वयकारी भूमिका खेलेको दाबी गरे।
मुख्यमन्त्री आचार्यका अनुसार सातै प्रदेश र संघीय सरकारसँग निरन्तर छलफलमार्फत देखिएका समस्या समाधान गरिएको छ र भविष्यमा पनि व्यावसायिक वातावरण सुधारका लागि संवाद जारी रहनेछ।
उनले कानुनी प्रक्रिया उल्लंघन गर्ने व्यक्ति वा समूहलाई मात्र कारबाही गर्नुपर्ने तर समग्र व्यवसाय क्षेत्रलाई नै लक्षित गरेर दबाब सिर्जना गर्नु उपयुक्त नहुने धारणा राखे।
आचार्यले हाल निजी क्षेत्र आर्थिक चुनौतीको अवस्थामा रहेको भन्दै थप कठोर नीति वा धरपकडले लगानी वातावरण झनै कमजोर बनाउन सक्ने चेतावनी दिए।
उनका अनुसार प्रदेश सरकारले लगानी वृद्धि, उद्यमशीलता प्रवर्द्धन र व्यवसाय विस्तारका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।
सरकारले निजी क्षेत्रसँग समन्वय गर्दै स्थानीय उत्पादन बढाउने, बजार पहुँच सुनिश्चित गर्ने र युवालाई उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम अघि बढाउने उनले जानकारी दिए।







