काठमाडौँ। जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ।
आइतबार दिउँसो करिब साढे ३ बजे गोदाममा आगो लागेको हो। घटनापछि सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा करिब एक घण्टाभित्र आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा कार्य गरिएको थियो। अपराह्न करिब ४ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।
गोदाममा प्रयोग भइसकेका पुराना स्वास्थ्य सामग्री तथा लिलामी प्रक्रियामा रहेका उपकरणहरू भण्डारण गरिएको थियो। प्रारम्भिक जानकारीअनुसार नजिकै फोहोर जलाउने क्रममा फैलिएको आगोले गोदाममा क्षति पुगेको अनुमान गरिएको छ।







