काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिँदै आएको स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्ने संकेत दिएको छ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो नीतिगत तयारीबारे जानकारी गराएको हो।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति निर्धारित लक्ष्यअनुरूप रहने अनुमानका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै आर्थिक वर्षको सुरुदेखि अपनाइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ।
समीक्षा प्रतिवेदनमा ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् राखिएको उल्लेख गरिएको छ।
केन्द्रीय बैंकले मौद्रिक नीति तथा त्यसअन्तर्गत गरिएका समीक्षात्मक व्यवस्थाले मूल्य स्थिरता, बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यस्ता व्यवस्थाबाट आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षासमेत गरिएको छ।







