काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयं उपस्थित नभएको भन्दै नेकपा एमालेसहित चार विपक्षी दलले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिने दलहरूमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
बैठक प्रारम्भ भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै उभिएर विरोध जनाएका थिए ।
प्रतिपक्षी सांसदहरूको नाराबाजी र विरोधकै बीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रमसम्बन्धी जवाफ प्रस्तुत गरेका थिए । अर्थमन्त्रीको जवाफ सकिएपछि एमाले सांसदहरूले पनि बैठक छाडेका हुन् ।
यसअघि विपक्षी दलहरूको अवरोधपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो प्रतिनिधित्व गर्दै जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिएको जानकारी गराउँदै सांसदहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।







