काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र समेट्न नसकेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा जारी छलफलका क्रममा उनले नीति तथा कार्यक्रम यथास्थितिमुखी देखिएको टिप्पणी गर्दै यसले जनअपेक्षा पूरा गर्न कठिन हुने धारणा राखे ।
पुनले नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनका अनुसार विगतमा यस्ता विषयमा कम्तीमा पाँच दिनसम्म विस्तृत छलफल हुने अभ्यास रहेकामा यसपटक समय अत्यन्त सीमित बनाइएको छ ।
उनले बजेट निर्माणअघि हुने प्रि-बजेट छलफलको अभ्यासलाई समेत प्रभावकारी रूपमा अगाडि नबढाइएको बताए । साथै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा प्रतिपक्षका प्रश्नहरूको प्रत्यक्ष सामना गर्दै सरकारका कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्ने धारणा व्यक्त गरे ।
पुनले सरकारसँग ठूलो जनसमर्थन भएकाले नागरिकको अपेक्षा पनि उच्च रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच पर्याप्त सामञ्जस्य नदेखिएको टिप्पणी गरेका छन् ।







