काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा बैठकमा सरकारका पछिल्ला नीतिगत तथा प्रशासनिक कदमविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।
सो पार्टीको संसदीय दलको बैठकपछि प्रमुख सचेतक युवराज दुलालले सरकारका समसामयिक निर्णय र गतिविधिबारे विस्तृत छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार संसद्मा पार्टीले विभिन्न समसामयिक विषय उठान गर्दै प्रभावकारी भूमिका निर्वाह गर्ने निष्कर्ष बैठकले निकालेको हो।
दलले सुकुम्वासी समस्या समाधानमा तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने, संसदीय प्रक्रियालाई छल्दै ल्याइएका अध्यादेशहरूमाथि प्रश्न उठाउने तथा प्रस्तावित प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधानमा संशोधन प्रस्ताव अघि सार्ने तयारी गरेको जनाएको छ। त्यस्तै प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी विषय पनि संसदमा उठाइने बताइएको छ।
हालको सरकारले सुकुम्वासी बस्ती व्यवस्थापनका क्रममा अपनाएका उपाय तथा अध्यादेशमार्फत अघि बढाइएका नीतिगत निर्णयप्रति विपक्षी दलहरूले संयुक्त रूपमा असन्तुष्टि जनाउँदै आएका छन्। यसै सन्दर्भमा विभिन्न विपक्षी दलहरू एकमत भएर सरकारका कदमको आलोचना गर्न उभिएको जनाइएको छ।







