काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका नीतिहरूले आर्थिक रूपमा कमजोर वर्गलाई सबैभन्दा बढी प्रभावित गरेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमजीवी र विपन्न वर्गमाथि सरकारबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गम्भीर असर पर्ने काम भइरहेको टिप्पणी गरे। उनका अनुसार यस्तो अवस्थाले सामाजिक असमानता थप गहिरो बनाएको छ।
दाहालले कम्युनिस्ट आन्दोलनले वर्गीय हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै अहिलेको परिस्थितिमा त्यही दृष्टिकोण अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले नेपालका कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै वर्गीय संघर्षलाई मजबुत बनाउन साझा प्रयास अपरिहार्य भएको धारणा राखे। उनका अनुसार कम्युनिस्ट दलहरू एकताबद्ध भएर अघि बढे मात्र सामाजिक न्याय र वर्गीय अधिकारका सवाललाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिन्छ।







