काठमाडौँ । लामो समयदेखि बन्द अवस्थामा रहेको भृकुटी कागज कारखानामा कार्यरत श्रमिकहरूले बाँकी पारिश्रमिक भुक्तानीको माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन्।
‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार’ अभियानमार्फत प्रधानमन्त्री कार्यालयमा बुझाइएको उक्त ज्ञापन पत्रमा ३३३ जना श्रमिकको करिब ४० करोड रुपैयाँ बक्यौता तत्काल उपलब्ध गराउन आग्रह गरिएको छ।
प्रधानमन्त्री बालेन शाह लाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत पेश गरिएको पत्रमा लामो समयदेखि रोकिएको पारिश्रमिकका कारण श्रमिकहरू आर्थिक संकटमा परेको उल्लेख गरिएको छ।
नवलपरासीको गैँडाकोटस्थित उक्त उद्योग २०६७ सालदेखि पूर्ण रूपमा बन्द रहेको र सो अवधिदेखि श्रमिकले पारिश्रमिक नपाएको जनाइएको छ। ज्ञापन पत्रमा उल्लेख भएअनुसार केही श्रमिकको यसबीच मृत्यु समेत भइसकेको छ।
श्रमिक पक्षले उद्योग रहेको करिब ६० बिघा जग्गालाई उचित व्यवस्थापन गर्दै कृषि, औद्योगिक वा व्यवस्थित नमुना बजारका रूपमा विकास गर्ने स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ।
अभियानका प्रतिनिधिहरूले माग सम्बोधन नभएमा आगामी पाँच दिनपछि आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। अभियानका संयोजक गणेश सापकोटाका अनुसार सम्बन्धित निकायमार्फत सरकारलाई बुझाइएको ज्ञापन पत्र अनुसार तत्काल पहल नभए दबाबमूलक कार्यक्रम सुरु गरिनेछ।









