काठमाडौँ । २५७०औँ बुद्धजयन्तीका अवसरमा म्यान्माको यांगनस्थित नेपाली दूतावासले शुक्रबार दूतावास परिसरमा धर्मदेशना (बौद्ध प्रवचन) तथा भिक्षादान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको प्रारम्भमा दीप प्रज्वलन गरिएको थियो भने दूतावास परिसरमा २५६८औँ बुद्धजयन्तीका अवसरमा स्थापना गरिएको भगवान् बुद्धको मूर्तिमा पुष्प अर्पण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै म्यान्माका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धका उपदेश र सिद्धान्तबारे चर्चा गरेको उक्त दूतावासले जनाएको छ ।
प्राचीनकालमा भगवान् बुद्धको म्यान्मासँगको ऐतिहासिक सम्बन्ध र याङ्गुनस्थित श्वेडागोन पगोडामा बुद्धका केश अवशेष सुरक्षित राखिएको प्रसंग उल्लेख गर्दै नेपाल–म्यान्माबीच गहिरो धार्मिक सम्बन्ध रहेको राजदूत घिमिरेले बताए।
कार्यक्रममा ह्सुत्तोपन परियत्ति विहार, याङ्गुनका भिक्षु कुन्डला तथा अन्य भिक्षुहरूले बुद्धका जीवन, उपदेश र सिद्धान्तबारे धर्मदेशना गरेका थिए। धर्मदेशना पश्चात् सात जना भिक्षुलाई भिक्षादान गरिएको थियो ।
कार्यक्रममा युनियन अफ म्यान्मा ट्राभल एसोसिएसनका अध्यक्ष क्याउ बोह्ने नाइङ तथा पदाधिकारीहरू, बोधगया पिलग्रिमेज वर्किङ कमिटीका अध्यक्ष माउङ माउङ म्यिन्ट र सदस्य, अल म्यान्मा गोर्खा हिन्दु धार्मिक संगठन, एनआरएनए म्यान्माका प्रतिनिधि, विभिन्न संस्थामा कार्यरत नेपाली नागरिक तथा नेपाली समुदायको सहभागिता थियो । कार्यक्रमपछि अतिथिहरूलाई नेपाली परिकारसहितको प्रसाद वितरण गरिएको थियो ।







