कैलाली । टीकापुर नगरपालिकाले नियमित अनुगमन तथा बजार व्यवस्थापन अभियानलाई तीव्रता दिँदै दुई दिनभित्र बजार क्षेत्रका सडक पेटी तथा अतिक्रमित सार्वजनिक स्थानहरू खाली गराएको जनाएको छ।
नगरपालिकाले २०८३ वैशाख १६ र १७ गते सञ्चालन गरेको अभियानअन्तर्गत बजार क्षेत्रभित्रका टहरा, ठेला तथा सडक पेटीमा राखिएका सामग्री हटाइएको हो।
नगरपालिकाका अनुसार पहिलो दिन चार चौतारीदेखि खुला मञ्चसम्म दायाँ-बायाँ रहेका टहराहरू हटाइएको छ भने बजार क्षेत्रको ब्लक नम्बर १ का सडक पेटीहरू पूर्ण रूपमा खाली गरिएको छ। त्यस्तै, टीकापुर बहुमुखी क्याम्पस जाने बाटोमा जमराको पुल नजिक रहेका टहराहरू तथा टीकापुर सामुदायिक एफएम अगाडि रहेका ठेलाहरू हटाइएको जनाइएको छ।
सिद्धार्थ होटेल नजिक रहेको कृषि हाटबजारमा खसी तथा बुङ्गुर बिक्रीमा पूर्ण रोक लगाइएको छ भने सो क्षेत्रमा सञ्चालनमा रहेका कपडा तथा जुत्ता-चप्पल पसलहरू पनि बन्द गराइएको छ। बिष्ट आयल निगमदेखि मेन्थासम्मको सडक किनारामा रहेका टहराहरू हटाउन सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ।
दोस्रो दिनको अभियानअन्तर्गत ब्लक नम्बर ३० मा रहेको अतिक्रमित खुला स्थान पूर्ण रूपमा खाली गरिएको छ। ब्लक नम्बर २१ मा एयरपोर्ट जाने बाटो छेउका चारवटा सटरहरू अमिनमार्फत जाँचबुझ गरी हटाउन सूचना जारी गरिएको छ।
त्यसैगरी, पुरानो ट्रिनिटी स्कुल जाने बाटोदेखि आँखा अस्पताल जाने बाटोसम्म दायाँ–बायाँ रहेका पसलका छाप्राहरू हटाइएको छ र सडक पेटीमा राखिएका सामग्रीहरू पनि खाली गराइएको छ। कालिका स्कुल गेट नजिक रहेका टहराहरू हटाइएको तथा वडा नम्बर २, विजय नगर स्वास्थ्य चौकी नजिक रहेको ग्रिल पसल पनि हटाइएको नगरपालिकाले जनाएको छ।
जाल्पादेवी मन्दिर नजिक ‘चार कठ्ठा’ भनिने स्थानमा रहेको खुला मैदान अतिक्रमणबारे अमिनमार्फत जाँचबुझ गरी खाली गर्न तीन दिनको समय दिइएको छ।
नगरपालिकाले बजार क्षेत्र व्यवस्थित बनाउन, सार्वजनिक स्थानको उपयोग सुनिश्चित गर्न तथा सडक पेटीमा अवरोध हटाउन अभियानलाई निरन्तरता दिइने जनाएको छ।
यसै सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बजार व्यवस्थापन अभियानलाई नियमअनुसार अघि बढाइएको उल्लेख गर्दै भनेका छन्, “सार्वजनिक स्थानको संरक्षण र बजारलाई व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो, यसमा सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक छ।”







