काठमाडौँ । मनोहरा सुकुम्बासी बस्तीमा बस्ती हटाउने अभियान जारी छ । सुरक्षाकर्मीहरुको कडा सुरक्षाबीच डोजर प्रयोग गरी संरचना भत्काउने काम भइरहँदा आसपासको क्षेत्र धुलोले ढाकिएको देखिन्छ ।

स्थानीय बासिन्दाहरू भने आफ्नो दैनिक जीवनसँग गाँसिएका सामानहरू हतारहतार सार्दै देखिन्छन् । अस्थायी टहरा, काठका फर्निचर र टिनका छाना हटाइँदै गर्दा बस्ती एकैपटक उजाडिँदै गएको दृश्यले विस्थापनको पीडा झल्काइरहेको छ ।

सुरक्षा निकायको बाक्लो उपस्थितिबीच बस्ती खाली गराउने कार्य चलिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तैनाथ रहँदा सम्भावित अवरोध नियन्त्रणमा राख्ने प्रयास देखिन्छ ।

उता, बस्ती नजिकै भेला भएका स्थानीय तथा सर्वसाधारणले डोजरले घर भत्काउँदै गरेको दृश्य नियालिरहेका छन् । कतिपय परिवार बालबालिकासहित खुला स्थानमा बसेर आफ्नो सामान जोगाउने प्रयासमा छन् ।










