काठमाडौँ । पूर्व प्रशासक शारदा प्रसाद त्रितालले देशभरका सार्वजनिक, सरकारी तथा गुठी जग्गा अनियमितता र सुकुम्बासी व्यवस्थापनमा भएको भनिएको घोटालाबारे छानबिन गर्न थप दुई उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव दिएका छन्।
हालै सरकारले सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको निर्णयलाई सकारात्मक भन्दै त्रितालले त्यसलाई थप प्रभावकारी बनाउन समान प्रकृतिका थप दुई आयोग आवश्यक रहेको धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
उनका अनुसार पहिलो आयोगले देशभर हिनामिना भएका सार्वजनिक, सरकारी तथा गुठी जग्गाको विस्तृत छानबिन गर्नुपर्नेछ। साथै हदबन्दीभन्दा बढी जग्गा कसरी कायम भयो भन्ने विषयसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताएका छन्। यस्तो अध्ययनबाट व्यापक अनियमितता उजागर हुने उनको दाबी छ।
त्यस्तै दोस्रो आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा भएका भनिएका जग्गा वितरण प्रक्रियाको छानबिन गर्नुपर्ने उनले प्रस्ताव गरेका छन्। लामो समयदेखि नक्कली सुकुम्बासी खडा गरी जग्गा वितरण गरिएको आरोपसमेत उनले उल्लेख गरेका छन्।
त्रितालका अनुसार यस्तो छानबिनबाट वास्तविक सुकुम्बासी पहिचान गर्न सहज हुने मात्र नभई विगतका आयोग तथा सम्बन्धित कर्मचारीहरूको भूमिकासमेत उजागर हुनेछ। त्यसपछि वास्तविक सुकुम्बासीको व्यवस्थापन पनि प्रभावकारी रूपमा गर्न सकिने उनको भनाइ छ।







