काठमाडौँ। बुक बिल्डिङ प्रणालीमार्फत प्रारम्भिक सेयर निष्कासन (आईपीओ) अघि बढाउने प्रक्रियाका लागि पाँच वटा कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)सँग औपचारिक सम्झौता गरेका छन्।
बुक बिल्डिङसम्बन्धी प्रावधानअनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरमा शिलबन्दी बोलपत्रमार्फत मूल्य निर्धारण तथा निष्कासन प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग प्रणालीगत सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्था अनुसार सम्बन्धित कम्पनीहरूले सम्झौता सम्पन्न गरेका हुन्।
यससँगै अब स्वचालित विद्युतीय प्रणालीमार्फत बुक बिल्डिङ प्रक्रिया अघि बढाउने कानुनी तथा प्राविधिक आधार तयार भएको छ, जसपछि सेयर निष्कासनका अन्य चरणहरू अगाडि बढ्नेछन्।
सम्झौता गर्ने कम्पनीहरूमा नर्भिक इन्टरनेसनल हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल र पूर्वाञ्चल ल्युब आयल रहेका छन्।
संस्थागत लगानीकर्ताका लागि सेयर संरचना अनुसार नर्भिकले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६ सय कित्ता, लक्ष्मी स्टिलले १८ लाख कित्ता तथा पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता सेयर छुट्याएको जनाइएको छ।








