काठमाडौँ । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२-०८३ को दोस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार कुल २०.२५ पूर्णाङ्कमध्ये मनाङले १९.५ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो। ग वर्गका जिल्लामध्ये मनाङ शीर्ष स्थानमा रहँदा नुवाकोटले १९.३७५ अंकसहित दोस्रो स्थान हासिल गरेको छ।
यसैगरी तेस्रो स्थानमा डोटी, चौथोमा पर्वत र पाँचौँमा रुपन्देही रहेका छन्।
पहिलो त्रैमासिक अवधिमा गरिएको कार्यसम्पादन मूल्यांकनमा पनि जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको थियो। कुल २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो।
लगातार दुई त्रैमासिक उत्कृष्ट नतिजा हासिल गर्ने जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज नवराज पौड्याल हुन्। उपसचिव पौड्याललाई गृह मन्त्रालयले भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो। मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो।
अष्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिस्टसमेत रहेका पौड्याल गृह प्रशासनका नतिजामुखी तथा गतिशील युवा प्रशासकका रूपमा चिनिन्छन्।
गृह मन्त्रालयसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूको पूर्ण कार्यान्वयनका कारण उक्त नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताएका छन्। उनका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा जिल्लास्थित सबै निकायहरूको सामूहिक प्रयासबाट यो उपलब्धि हासिल भएको हो।
गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व तथा प्रशासनिक कार्यशैलीलगायतका सूचकका आधारमा नियमित रूपमा मूल्यांकन गर्दै आएको छ।







