नवप्रवर्तन, जोखिम र अवसरको संयोजनले नेपाली युवालाई रोजगारी सिर्जनातर्फ मोड्दैछ । पाँच उद्यमीका अनुभवले देखाउँछ -नीति, पूँजी र आत्मविश्वास मिले उद्यमशीलता नै नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बन्न सक्छ ।
काठमाडौँ । नेपालमा उद्यमशीलता र नवप्रवर्तनको चर्चा अब नीतिगत कागजमा सीमित छैन, व्यवहारमै देखिन थालेको छ । राज्यले स्टार्टअप प्रवद्र्धनका लागि अघि सारेका कार्यक्रम, वित्तीय पहुँच विस्तारका प्रयास र युवा पुस्ताको जोखिम लिने मानसिकताबीचको समन्वयले नयाँ आर्थिक संस्कृतिको संकेत गरिरहेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट सहुलियतपूर्ण कर्जा लिएर उद्यमशीलतालाई बढोत्तरी गरिरहेका पाँच फरक क्षेत्रका उद्यमीका कथा, जहाँ फोहोर व्यवस्थापनदेखि डिजिटल रूपान्तरणसम्मका यात्राले नेपालको सम्भावना र चुनौती दुवैलाई उजागर गर्छ ।
राज्यले सञ्चालन गरेका स्टार्टअप कर्जाजस्ता वित्तीय सहयोगले वास्तविक उद्यमीको जीवन र व्यवसायमा कस्तो प्रभाव पारिरहेको छ भन्ने तथ्यलाई व्यवहारिक उदाहरणमार्फत देखाउने प्रयास गरिएको छ ।
यस फिचरमा समेटिएका पाँच उद्यमी-सुष्मा शर्मा (फूल प्रसाद), नितेश कटुवाल (आइस टि), नशाना बज्राचार्य (रिकृति), क्षितिज ओझा (डिजिटल गोर्खा) र ‘हाँडी बिरयानी’का सञ्चालक पुजन र पोषण नेपाल सबै फरक क्षेत्रका भए पनि उनीहरूको साझा बिन्दु भनेको नवप्रवर्तन, जोखिम र अवसरको संयोजन हो ।
फोहोरबाट मूल्य सिर्जना : ‘फूल प्रसाद’ले देखाएको सामाजिक उद्यमको नयाँ मोडेल

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएकी संस्थापक प्रमुख कार्यकारी अधिकृत सुषमा शर्माले जीवनको एउटा निर्णायक मोडमा आफूलाई पुन: परिभाषित गर्ने निर्णय गरिन् । लामो समयसम्म संरचित कार्यप्रणालीभित्र काम गरेपछि उनले केही समयका लागि ‘ग्याप’ लिने योजना बनाइन् । यही ‘ग्याप’ नै उनको उद्यमशील यात्राको सुरुवात बिन्दु बन्यो ।
उनका अनुसार, २०१८ को अन्त्यतिर काठमाडौँको अवस्था निकै फोहोरमय थियो । त्यही समयमा उनले समाजमा रहेका ‘ग्याप’हरू खोज्ने प्रयास गरिन् -कहाँ समस्या छ र त्यसमा के गर्न सकिन्छ भन्ने दृष्टिकोणबाट । यही क्रममा उनले दुई वटा स्पष्ट अन्तर पहिचान गरिन् । पहिलो, नेपालमा उत्पादन भएका वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा पर्याप्त रूपमा नपुगेको अवस्था । दोस्रो, मन्दिरमा चढाइएका फूलहरू श्रद्धापूर्वक चढाइए पनि केही समयमै फोहोरको रूपमा फालिने अवस्था ।
“मन्दिरमा चढाइएको फूल तुरुन्तै गार्बेजमा जाने देखेपछि त्यसलाई केहि गर्न सकिन्छ कि भन्ने सोच आयो,” उनले भनिन् । उनका लागि यो केवल फोहोर व्यवस्थापनको विषय मात्र थिएन, भावनात्मक र सांस्कृतिक मूल्यसँग जोडिएको प्रश्न पनि थियो । “चढाइएको वस्तुमा सकारात्मक ऊर्जा हुन्छ भन्ने विश्वास छ, तर त्यो तुरुन्तै फालिनु मलाई असहज लाग्यो,” उनले भनिन् ।
यससँगै उनको व्यक्तिगत अनुभव पनि जोडिएको थियो । लामो समय जागिरमा रहँदा उनले ‘मोनोटोनस’ कार्यशैलीको अनुभूति गरेकी थिइन् । “अर्काको फ्रेमवर्कभित्र काम गर्दा-गर्दा आफूलाई सन्तुष्टि कम हुँदै गएको महसुस भयो,” उनी भन्छिन् । यही अवस्थाले उनलाई ‘ह्यापिनेस खोज्ने’ दिशातर्फ मोड्यो ।
यही सोच, अनुभव र अवलोकनको संयोजनबाट ‘फूल प्रसाद’को अवधारणा जन्मियो । उनले मन्दिरबाट संकलन गरिएका फूललाई पुन: प्रयोग गरी धूप, क्यान्डल तथा अन्य वातावरणमैत्री उत्पादन बनाउने काम सुरु गरिन् । सुरुमा सानो स्तरबाट सुरु गरिएको यो उद्यम विस्तार हुँदै व्यवस्थित उत्पादन प्रक्रियामा रूपान्तरण भयो ।

तर यो यात्रा सहज थिएन । कच्चा पदार्थ संकलनको निरन्तरता, उत्पादन प्रविधि विकास, बजारमा विश्वास निर्माण र व्यवस्थापन प्रणाली विकास सबै चुनौतीपूर्ण थिए । विशेषगरी आर्थिक पक्षले उनलाई बढी चुनौती दियो ।
यही अवस्थामा स्टार्टअप कर्जाले उनको उद्यमलाई ‘इनर्जाइज’ गर्ने काम गरेको उनी बताउँछिन् । “स्टार्टअप कर्जाले कुनै पनि उद्यमीलाई आर्थिक मात्र होइन, टेक्निकल र सञ्चालनगत रूपमा पनि सहयोग गर्छ,” उनी भन्छिन् ।
उनले कर्जाको उपयोग विशेषगरी ‘कस्ट हेभी’ भएका क्षेत्रहरूमा खर्च घटाउने र उत्पादनलाई व्यवस्थित बनाउनेतर्फ केन्द्रित गरिन्। कर्जाबाट प्राप्त रकममध्ये केही भाग सवारी साधन खरिदमा लगानी गरिएको थियो, जसले व्यवसाय सञ्चालनलाई सहज बनाउनुका साथै मुनाफामा समेत सकारात्मक प्रभाव पारेको उनले बताइन् ।
यसले भाडावाफत हुने खर्च घटाउनुका साथै आवश्यकताअनुसार जुनसुकै समयमा सामान ढुवानी गर्न सहज भएको उनको अनुभव छ । “जहाँ लागत बढी थियो, त्यहाँ कर्जा प्रयोग गरेर व्यवस्थापन सुधार गर्न सकेँ,” उनले भनिन् ।
उनको उद्यम अहिले ‘ग्रोथ स्टेज’मा रहेको छ, जहाँ उत्पादन विस्तार, व्यवस्थापन सुधार र बजार विस्तारमा ध्यान केन्द्रित गरिएको छ ।
‘फूल प्रसाद’को अर्को महत्वपूर्ण आयाम सामाजिक प्रभाव हो । उत्पादन प्रक्रियामा महिलाहरूलाई संलग्न गराउँदै उनले स्थानीय स्तरमा रोजगारी सिर्जना गरेकी छन् । यसले आर्थिक अवसर मात्र होइन, सामाजिक सशक्तीकरण पनि बढाएको छ ।
आज ‘फूल प्रसाद’ केवल एउटा उत्पादन ब्रान्ड होइन, सोचको परिवर्तनको उदाहरण बनेको छ –जहाँ फोहोरभित्र अवसर देखिन्छ, र व्यक्तिगत खोज सामाजिक उद्यममा रूपान्तरण हुन्छ ।
उत्पादनमुखी अर्थतन्त्रतर्फ : ‘सवरत एग्रो’को भ्यालु एडिसन मोडेल

संखुवासभाबाट आएका युवा उद्यमी नितेश कटुवालको उद्यम यात्रा केवल व्यक्तिगत व्यवसायिक निर्णय होइन, नेपालको संरचनागत आर्थिक समस्याप्रतिको प्रत्यक्ष प्रतिक्रिया हो । बाल्यकालदेखि नै उनले चिया र अलैँचीको व्यापार नजिकबाट नियालेका थिए -जहाँ उत्पादन नेपालमा हुने, तर त्यसको वास्तविक मूल्य अभिवृद्धि विदेशमै हुने अवस्था थियो । यही अन्तरले उनको सोचलाई दिशानिर्देश गर्यो ।
उनका अनुसार, नेपालमा उपलब्ध कच्चा पदार्थलाई प्रशोधन नगरी निर्यात गर्ने र पछि त्यही उत्पादनलाई महँगो मूल्यमा आयात गर्ने प्रवृत्तिले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । यही अवस्थालाई बदल्ने उद्देश्यले उनले ‘रेडी टु ड्रिंक’ चिया उत्पादन गर्ने अवधारणा अघि सारे, जसमा नेपाली चिया, जडीबुटी र स्थानीय स्रोतको उपयोग गरिएको छ ।
तर अवधारणा स्पष्ट भए पनि कार्यान्वयन सजिलो थिएन । उद्योग दर्तादेखि नै उनले जटिल प्रक्रियाको सामना गर्नुपर्यो । सरकारी कम्प्लायन्स, फाइलिङ प्रक्रिया र अनुमति प्रणालीले समय मात्र होइन, उद्यमीको ऊर्जा पनि खपत गर्ने उनले अनुभव सुनाए । उनका अनुसार, उद्योग दर्ता र सञ्चालन प्रक्रियामा लाग्ने समय र जटिलताले नयाँ उद्यमीलाई प्रारम्भमै निरुत्साहित गर्ने अवस्था देखिन्छ ।
बजारमा प्रवेशपछि चुनौती थप फराकिलो भयो । वितरण प्रणाली सीमित, बजारमा स्थापित ब्रान्डहरूको प्रभाव र उपभोक्तामा नयाँ उत्पादनप्रतिको विश्वास निर्माण गर्नु कठिन थियो । उनी भन्छन्, नेपालमा वितरण संरचना अझै परम्परागत मोडेलमै आधारित छ, जहाँ स्टार्टअपलाई प्रवेश गर्न सजिलो हुँदैन । हाल उनीहरूले पनि यही ‘ट्रेडिसनल डिस्ट्रिबुसन मोडेल’ अपनाएका छन्, डिस्ट्रिब्युटर, रिटेलर हुँदै उपभोक्तासम्म पुग्ने संरचना, जसले रोजगारी सिर्जना र बजार विस्तारमा भूमिका खेलेको छ ।
उत्पादनको गुणस्तरमा भने उनले कुनै सम्झौता नगर्ने रणनीति अपनाए । कम्पनीले इनहाउस ल्याब स्थापना गरेर उत्पादनको नियमित परीक्षण गर्ने व्यवस्था गरेको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट आवश्यक अनुमति लिएर, आधुनिक उपकरण र ‘नो–ह्युमन–टच’ अटोमेटेड प्रणालीमार्फत उत्पादन गरिँदै आएको छ । यसले उत्पादनको स्वच्छता र गुणस्तर दुवै सुनिश्चित गरेको छ ।

स्टार्टअप कर्जाले उद्यमलाई निर्णायक मोड दिएको उनी स्वीकार गर्छन् । उनका अनुसार, यस्तो कर्जाले केवल वित्तीय सहयोग मात्र होइन, उद्यमीलाई ‘मोटिभेसन’ र ‘भ्यालिडेसन’ पनि प्रदान गर्छ । कर्जाबाट प्राप्त स्रोतलाई उनले विशेषगरी मार्केटिङ, प्याकेजिङ सुधार, क्वालिटी कन्ट्रोल र उत्पादन प्रक्रियाको आधुनिकीकरणमा प्रयोग गरेका छन् ।
उनको कम्पनी अहिले ‘प्रि-स्केलिङ’ चरणमा रहेको छ -जहाँ उत्पादन क्षमता, बजार विस्तार र ब्रान्ड निर्माणमा केन्द्रित प्रयास भइरहेको छ । नेपाली बजारमा सीमित रूपमा उपस्थित भए पनि उनीहरूले अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने तयारी सुरु गरिसकेका छन् ।
कटुवालले नीति सुधारको आवश्यकता पनि स्पष्ट रूपमा औंल्याएका छन् । उनका अनुसार, स्टार्टअपलाई दीर्घकालीन रूपमा सफल बनाउन कर नीति, फन्डिङ संरचना, विदेशी लगानी पहुँच र उद्योग दर्ता प्रक्रियामा सुधार आवश्यक छ । विशेषगरी, ‘कोल्याटरल–फ्री’ फन्डिङभन्दा पनि क्षमता, टिम र कन्सेप्टका आधारमा लगानी गर्ने प्रणाली विकास गर्नुपर्ने उनको सुझाव छ ।

उनले युवालाई पनि सन्देश दिएका छन् -नेपालमै अवसर छ, तर त्यसका लागि धैर्य, निरन्तरता र सकारात्मक सोच आवश्यक छ ।
अन्तत:, ‘सवरत एग्रो फार्म’ केवल पेय पदार्थ उत्पादन गर्ने कम्पनी होइन, भ्यालु एडिसनमार्फत नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन खोजिएको एउटा प्रयासका रूपमा स्थापित हुँदै गएको छ ।
वेस्टदेखि वर्थसम्म : पुन:प्रयोगबाट सामाजिक उद्यमको विस्तार

न्यु रोड क्षेत्रमा हुर्किएकी नशाना बज्राचार्यको उद्यम यात्रा शहरको बदलिँदो बजार संरचनासँगै विकसित भएको हो । बाल्यकालमा उनले आफ्नो वरिपरि किराना पसल, साना व्यवसाय र सेवा केन्द्रहरू देखेकी थिइन् । तर समयसँगै ती सबै पसलहरू क्रमश: कपडा व्यवसायले प्रतिस्थापन हुँदै गएको दृश्यले उनको ध्यान खिच्यो ।
उनका अनुसार, बजारको यही परिवर्तनले उपभोगको प्रवृत्तिमा आएको तीव्र वृद्धि संकेत गरिरहेको थियो । मानिसहरूले हरेक वर्ष नयाँ कपडा किन्ने, तर पुराना कपडाको व्यवस्थापनबारे स्पष्ट सोच नहुने अवस्थाले उनलाई सोच्न बाध्य बनायो ।
ब्याचलर्स अध्ययनका क्रममा बिजनेस कम्पिटिसनका लागि आइडिया खोज्दा यही प्रश्न उनको उद्यमको आधार बन्यो -पुराना कपडाको के हुन्छ ? यसै प्रश्नलाई उनले अनुसन्धानमार्फत विस्तार गरिन् । डिजिटल प्लेटफर्ममार्फत उनले कपडा पुन:प्रयोग (अपसाइकलिङ) केवल सिर्जनात्मक काम मात्र नभई वातावरणीय रूपमा पनि उपयोगी हुने कुरा बुझेकी थिइन् ।
यही अध्ययन र अवधारणाबाट ‘रिकृति’को सुरुवात भयो, जहाँ कपडा वेस्टलाई नयाँ डिजाइनका उपयोगी उत्पादनमा रूपान्तरण गरिन्छ ।
तर ‘रिकृति’को विशेषता उत्पादनमा मात्र सीमित छैन । यसको मूल शक्ति यसको सामाजिक मोडेलमा छ । नशानाले काठमाडौँ उपत्यकामा ठूलो संख्यामा रहेका तर औपचारिक रोजगारीमा नजोडिएका सीपयुक्त महिलाहरूको अवस्थालाई नजिकबाट नियालिन् ।
उनका अनुसार, स्थानीय तहबाट सञ्चालन हुने तालिममार्फत धेरै महिलाले सिलाइ-बुनाइ जस्ता सीप हासिल गरे पनि, पारिवारिक जिम्मेवारीका कारण उनीहरू नियमित काममा संलग्न हुन सक्दैनन् । यही अवस्थालाई अवसरमा रूपान्तरण गर्दै उनले ‘होम-बेस्ड टेलर’ मोडेल विकास गरिन् ।
यस मोडेलअन्तर्गत कम्पनीले कच्चा पदार्थ काटेर तयार पार्ने काम फ्याक्ट्रीमा गर्छ, त्यसपछि ती सामग्री महिलाहरूलाई घरमै लैजान दिइन्छ, जहाँ उनीहरूले उत्पादन तयार पार्छन् । यसले एकातिर उत्पादन विस्तारमा सहयोग पुगेको छ भने अर्कोतिर महिलाहरूलाई आफ्नै घरबाट आयआर्जन गर्ने अवसर सिर्जना भएको छ ।
सुरुवाती चरणमा उनले आफ्नै लगानी र पारिवारिक सहयोगबाट व्यवसाय सञ्चालन गरिन् । तर विस्तारको क्रममा ‘एक्सपेरिमेन्ट’ गर्न नसक्ने अवस्था ठूलो बाधा बन्यो ।
उनका अनुसार, आफ्नै पैसाबाट काम गर्दा नयाँ उत्पादन परीक्षण गर्नै डर लाग्थ्यो, किनकि असफल भए लगानी नै जोखिममा पर्ने अवस्था थियो ।
पछि युरोपियन युनियनको ‘सर्कुलर इकोनोमी’ कार्यक्रमअन्तर्गत प्राप्त अनुदानले उनको व्यवसायलाई पहिलो ‘पुस’ दियो । यसले उत्पादन सुधार, स्टाफ तालिम, मार्केटिङ र क्वालिटी कन्ट्रोलमा सुधार ल्याउन सहयोग गर्यो ।
तर दीर्घकालीन विस्तारका लागि त्यो पर्याप्त थिएन । यही अवस्थामा स्टार्टअप कर्जाले निर्णायक भूमिका खेलेको उनी बताउँछिन् ।
कर्जापछि उनले उत्पादनलाई सानो स्तरबाट ठूलो स्तरमा रूपान्तरण गर्न सकिन् । कच्चा पदार्थ बल्कमा खरिद गर्ने, नयाँ मेसिन थप्ने, उत्पादन विविधीकरण गर्ने र मार्केटिङलाई व्यवस्थित बनाउने काम सम्भव भयो ।
उनका अनुसार, कर्जाले सबैभन्दा ठूलो परिवर्तन ‘आत्मविश्वास’मा ल्यायो । “कर्जापछि प्रयोग गर्न आट आयो, नयाँ उत्पादन ल्याउन र जोखिम लिन सक्ने अवस्था बन्यो,” उनले बताइन् ।
हाल ‘रिकृति’ले करिब १५ प्रकारका उत्पादन बजारमा ल्याइसकेको छ, जुन पहिलेको तुलनामा दोब्बरभन्दा बढी हो ।

बिक्री संरचनामा पनि विविधता देखिन्छ, अनलाइन बिक्री, पसलमार्फत कमिसन आधारित बिक्री र संस्थागत अर्डरमार्फत उत्पादन विस्तार भइरहेको छ ।
कपडा स्रोतका हिसाबले पनि कम्पनीले मिश्रित मोडेल अपनाएको छ । करिब ७५ प्रतिशत कच्चा पदार्थ गार्मेन्ट फ्याक्ट्रीको वेस्टबाट आउँछ भने बाँकी २५ प्रतिशत ग्राहकबाट प्राप्त पुराना कपडाबाट उत्पादन गरिन्छ ।
उनका अनुसार, वेस्टलाई पुन:प्रयोग गर्दा रोजगारी सिर्जना हुने दर पनि बढ्छ । “जहाँ वेस्ट कपडाबाट सीमित मूल्य सिर्जना हुन्छ, त्यही सामग्रीलाई उत्पादनमा रूपान्तरण गर्दा धेरै मानिसले रोजगारी पाउँछन्,” उनी भन्छिन् ।
मार्केटिङ पक्षमा पनि कम्पनीले सुरुवाती चुनौती पार गरेको छ । सुरुमा ‘रिसाइकल्ड प्रोडक्ट’प्रति उपभोक्ताको विश्वास कम भए पनि, गुणस्तर र डिजाइनमा सुधार तथा ब्रान्डिङमा लगानीपछि बजार विस्तार सम्भव भएको उनले बताइन् ।
हाल कम्पनी चौथो आर्थिक वर्षमा प्रवेश गरिसकेको छ र ‘एक्सपेरिमेन्ट स्टेज’ पार गर्दै ‘स्टेबल ग्रोथ’तर्फ उन्मुख छ । उनले सुलभ कर्जाको किस्तासमेत तिर्न शुरु गरिसकेकी छिन् ।
आगामी योजना अन्तर्गत कम्पनीले संस्थागत उत्पादन, टुरिस्ट बजार लक्षित उत्पादन र भविष्यमा कपडाबाट बनेका लुगा उत्पादनमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
अन्तत:, ‘रिकृति’ केवल कपडा पुन:प्रयोग गर्ने व्यवसाय होइन, यो संसाधन व्यवस्थापन, महिला सशक्तीकरण र उद्यमशीलताको संयोजनबाट बनेको सामाजिक-आर्थिक मोडेलका रूपमा विकसित हुँदै गएको छ ।
डिजिटल रूपान्तरणमार्फत बजार पुनर्संरचना : ‘डिजिटल गोर्खा’को पहल

डिजिटल सेवा क्षेत्रमा सक्रिय ‘डिजिटल गोर्खा’ नेपालको व्यवसाय र शिक्षालाई डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढिरहेको उद्यम हो ।
यस उद्यमको सुरुवात प्रारम्भिक रूपमा अर्को व्यवस्थापन टोलीबाट भए पनि, २०२२ पछि क्षितिज ओझा टिमले नेतृत्व सम्हालेपछि यसले स्पष्ट रणनीतिक दिशा पाएको छ । उनका अनुसार, कम्पनीको मुख्य उद्देश्य दुई प्रमुख क्षेत्रमा केन्द्रित छ, व्यवसायको डिजिटल रूपान्तरण र शिक्षा क्षेत्रमा प्रविधिको एकीकरण ।
ओझाका अनुसार, विश्वव्यापी रूपमा काम गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ । उत्पादन, सेवा र व्यवस्थापनका सबै प्रक्रिया डिजिटल हुँदै गइरहेका छन् । यस्तो अवस्थामा नेपालले आफूलाई त्यसअनुसार अनुकूलन नगरेमा प्रतिस्पर्धात्मक क्षमतामा पछि पर्ने जोखिम रहेको उनी बताउँछन् । यही बुझाइका आधारमा ‘डिजिटल गोर्खा’ले स्थानीय व्यवसाय र प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको हो ।
उनका अनुसार, डिजिटल रूपान्तरण केवल प्रविधि प्रयोगको विषय होइन, ‘वे अफ डुइङ’ परिवर्तन गर्ने प्रक्रिया हो । व्यवसाय कसरी सञ्चालन गर्ने, सेवा कसरी दिने, ग्राहकसँग कसरी जोडिने -यी सबै पक्षमा डिजिटल माध्यम अपनाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
शिक्षा क्षेत्रमा पनि कम्पनीले विशेष ध्यान दिएको छ । विशेषगरी ‘स्किल–बेस्ड एजुकेसन’मार्फत युवालाई डिजिटल सीप प्रदान गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्य राखिएको छ । यसअन्तर्गत फ्रिल्यान्सिङ, कोडिङ, डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा तालिम कार्यक्रम विकास भइरहेको छ ।
स्टार्टअप कर्जाले कम्पनीको विकासमा महत्वपूर्ण भूमिका खेलेको उनी स्वीकार गर्छन् । उनका अनुसार, यस्तो कर्जाले दुई तहमा प्रभाव पार्छ -पहिलो, उद्यमको अवधारणालाई ‘भ्यालिडेसन’ दिन्छ र दोस्रो, आवश्यक प्रविधिगत पूर्वाधार निर्माणमा सहयोग गर्छ ।
विशेषगरी, एटेक प्लेटफर्म सञ्चालनका लागि आवश्यक स्टुडियो उपकरण र प्रविधिमा लगानी गर्न कर्जाले सहयोग पुर्याएको उनले बताए । यसले कम्पनीलाई चरणबद्ध रूपमा होइन, एकैपटक सेवा सुरु गर्न सक्षम बनाएको छ ।

तर, उनले नेपालमा डिजिटल स्टार्टअप सञ्चालन गर्दा नीतिगत र संरचनागत चुनौतीहरू अझै रहेको औंल्याएका छन् ।
उनका अनुसार, प्रशासनिक प्रक्रिया अझै जटिल छ, जसले उद्यमीलाई अनावश्यक रूपमा अल्झाउने काम गर्छ । त्यस्तै, कर प्रणाली र वित्तीय संरचना पनि पूर्ण रूपमा स्टार्टअपमैत्री हुन सकेको छैन ।
विशेषगरी, ‘प्रोजेक्ट–बेस्ड फाइनान्सिङ’को अभाव, डेट फाइनान्सिङमा नीतिगत अवरोध र स्टार्टअपका लागि विशेष कर व्यवस्था नहुनु मुख्य चुनौतीका रूपमा उनले उल्लेख गरेका छन् ।
यद्यपि, हालै सरकारले स्वेट इक्विटी जस्ता अवधारणालाई मान्यता दिने प्रयास गरेको र स्टार्टअपमैत्री नीतिमा सुधार ल्याउने पहल सकारात्मक संकेत भएको उनी बताउँछन् ।
उनका अनुसार, यदि विशेष कर प्रणाली, स्टार्टअप-मैत्री आईटी पूर्वाधार र अन्तर्राष्ट्रिय बजारसँग जोडिने सहज वातावरण विकास गर्न सकियो भने डिजिटल उद्यमको सम्भावना अझै विस्तार हुन सक्छ ।
कम्पनीको वर्तमान कार्ययोजनामा ‘स्किल–बेस्ड डिजिटल शिक्षा’लाई सर्वसुलभ बनाउने लक्ष्य रहेको छ । यसअन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम विकास गरी बजारमा ल्याउने तयारी भइरहेको छ ।
हालै कम्पनीले व्यवसाय–केन्द्रित कार्यक्रमहरू सुरु गरेको छ भने कोडिङ र डिजिटल मार्केटिङसम्बन्धी कार्यक्रमहरू पनि लन्च गर्ने तयारीमा रहेको छ ।
अन्तत:, ‘डिजिटल गोर्खा’ केवल सेवा प्रदायक कम्पनी होइन, नेपालको डिजिटल रूपान्तरणलाई गति दिने प्रयासका रूपमा विकसित हुँदै गएको छ, जहाँ प्रविधि, शिक्षा र उद्यमशीलताको संयोजनमार्फत नयाँ आर्थिक सम्भावना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
परम्परागत स्वाद, आधुनिक रणनीति : ‘हाडी बिरयानी’को ब्रान्ड निर्माण यात्रा

खाद्य व्यवसायमा फरक अवधारणा प्रस्तुत गर्दै ‘हाँडी बिरयानी’ले नेपाली बजारमा परम्परागत स्वादलाई नयाँ शैलीमा रूपान्तरण गरेको छ । दाजुभाइ-पोषण नेपाल र पुजन नेपालद्वारा सञ्चालनमा ल्याइएको यो उद्यमले बजार अध्ययन, नवप्रवर्तन र क्रमिक विस्तारमार्फत आफ्नै पहिचान स्थापित गरेको छ ।
सञ्चालक पोषण नेपालका अनुसार, व्यवसायको सुरुवात गहिरो बजार अध्ययनबाट भएको हो । दिल्ली पुगेका बेला नेपाली मम जस्तै बिरयानी पनि गल्ली-गल्लीमा लोकप्रिय भएको देखेपछि उनले त्यसलाई नेपाली बजारमा फरक शैलीमा प्रस्तुत गर्ने सम्भावना देखेका थिए ।
“दिल्लीमा मम जस्तै बिरयानी पनि व्यापक देखेपछि, त्यसलाई नेपालमा केही नविनता दिएर ल्याउन सकिन्छ भन्ने सोच आयो,” उनले भने । त्यही अवधारणाअनुसार बिरयानीलाई ‘हाडी’मा पकाएर प्रस्तुत गर्ने नयाँ शैलीसहित बजारमा प्रवेश गरिएको उनले बताए ।
उनका अनुसार, बिरयानी नेपाली बजारमा पहिले नै परिचित भए पनि त्यसलाई फरक ढंगले प्रस्तुत गर्नु नै मुख्य रणनीति थियो । बजारमा टिक्नका लागि नयाँपन र ग्राहक अनुभव दुवै महत्वपूर्ण हुने उनी बताउँछन् ।
फुड व्यवसाय आफैंमा जटिल र संवेदनशील क्षेत्र भएको पोषण नेपालको अनुभव छ । “फुडमा कच्चा पदार्थदेखि पकाउने प्रक्रिया, स्वादको सन्तुलन र सेवा सबै पक्ष जोडिएका हुन्छन्, जसले गर्दा प्रत्येक ग्राहकको अपेक्षा पूरा गर्न चुनौतीपूर्ण हुन्छ,” उनले उल्लेख गरे ।
सुरुवाती चरणमा ग्राहकहरुलाई नै बिरयानीको ‘अथेन्टिक’ स्वरूपबारे समेत स्पष्ट ज्ञान नभएको बताउँदै उनले सिक्दै–सिकाउँदै व्यवसाय अघि बढाइएको बताए । सात वर्षको अवधिमा उत्पादनको गुणस्तर, प्रस्तुतीकरण र सञ्चालन प्रणालीमा उल्लेख्य सुधार आएको उनको भनाइ छ ।
स्टार्टअप कर्जाले व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् । “डिल्लीबजारको आउटलेट लामो समयदेखि सुधार गर्न सकेका थिएनौँ, कर्जाले त्यसको रिनोभेसनमा सहयोग गर्यो,” उनले भने ।
त्यसैगरी, डिजिटल विस्तार र विज्ञापन विकासमा पनि उक्त कर्जाले सहयोग पुर्याएको उनले बताए । आगामी विस्तार योजनालाई पनि यसले बल दिएको उनको भनाइ छ ।
संस्थापक पुजन नेपालका अनुसार, सुरुवातमै फरक अवधारणा र ब्रान्ड पहिचान स्थापित गर्न सक्नु व्यवसायको मुख्य उपलब्धि हो ।

“हामीले सुरुमै अध्ययन गरेर नयाँ शैलीको प्रोडक्ट ल्यायौँ, जसले ब्रान्डलाई बजारमा स्थापित गर्न मद्दत गर्यो,” उनले बताए ।
उनका अनुसार, बजारमा टिकिरहन निरन्तर उत्पादन सुधार र प्रस्तुतीकरणमा ध्यान दिनु आवश्यक हुन्छ । “प्रोडक्टलाई कसरी अझ राम्रो बनाउने र नयाँ तरिकाले प्रस्तुत गर्ने भन्नेमा निरन्तर काम गरिरहेका छौँ,” उनले भने ।
पुजन नेपालले डिजिटल मार्केटिङको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । “आजको समयमा डिजिटल प्लेटफर्ममार्फत ग्राहकसम्म पुग्नु आवश्यक छ, त्यसैले मार्केटिङमा पनि प्रविधिको अधिकतम प्रयोग गरिरहेका छौँ,” उनले स्पष्ट पारे ।
नीतिगत पक्षमा भने उनले केही सुधार आवश्यक रहेको औंल्याए । विशेषगरी हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति अभाव देखिएको भन्दै सीपमूलक तालिम र रोजगारी सिर्जनामा सरकारको सक्रियता आवश्यक रहेको उनको भनाइ छ ।
“एकातिर बेरोजगारीको कुरा हुन्छ, अर्कोतिर आवश्यक जनशक्ति पाइँदैन -यो ग्याप हटाउन सीप विकासमा ध्यान दिनुपर्छ,” उनले प्रशासनसँग भने ।
त्यस्तै, कर संरचनामा पनि सुधार आवश्यक रहेको उनको धारणा छ । “रेस्टुरेन्ट व्यवसायलाई लक्जरीभन्दा आवश्यक सेवाको रूपमा हेरेर कर प्रणालीलाई व्यावहारिक बनाइयो भने व्यवसाय विस्तारमा सहयोग पुग्छ,” उनले सुझाव दिए ।
हाल ‘हाडी बिरयानी’का काठमाडौँ उपत्यकामा दुईवटा आउटलेट सञ्चालनमा छन् र आगामी दिनमा फ्रेन्चाइज मोडेलमार्फत विस्तार गर्ने योजना रहेको छ ।

अन्तत:, ‘हाडी बिरयानी’ले बजार अध्ययन, नवप्रवर्तन, गुणस्तर सुधार र प्रविधि प्रयोगको संयोजनमार्फत नेपाली खाद्य व्यवसायमा फरक पहिचान निर्माण गरेको उदाहरण प्रस्तुत गरेको छ –जहाँ परम्परागत स्वादलाई आधुनिक व्यवसायिक रणनीतिसँग जोडिएको देखिन्छ ।
स्टार्टअप कर्जाबाट इकोसिस्टम निर्माणतर्फ संस्थागत रूपान्तरण

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कार्यक्रमलाई केवल कर्जा वितरणमा सीमित नराखी उद्यमशीलता प्रवर्द्धनको समग्र इकोसिस्टम निर्माणतर्फ केन्द्रित गरेको जनाएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक इ. उमेश कुमार गुप्ताका अनुसार, नेपालमा स्टार्टअपको अवधारणा विश्व बजारको प्रभावसँगै विस्तार हुँदै आएको हो । “भारत र चीनमा स्टार्टअप इकोसिस्टम विस्तार भएसँगै नेपालमा पनि २०७० को दशकदेखि प्रयास सुरु भएको हो,” उनले भने ।
उनका अनुसार, प्रारम्भिक प्रयासहरू प्रभावकारी रूपमा अघि बढ्न नसके पनि पछिल्ला वर्षहरूमा नीति, बजेट र संस्थागत नेतृत्वको समन्वयपछि कार्यक्रमले गति लिएको छ । विशेषगरी आर्थिक वर्ष २०८०/८१ देखि कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सुरु गरिएको र त्यसयता निरन्तर सुधारसहित अघि बढाइएको उनले जानकारी दिए ।
स्टार्टअप कर्जा तथा प्रवर्द्धन कार्यक्रममार्फत विभिन्न क्षेत्रका उद्यमीहरूले लाभ लिइरहेका छन् । गुप्ताका अनुसार, राष्ट्रिय स्टार्टअप उद्यम नीतिअनुसार तोकिएका १९ वटा क्षेत्रमध्ये अधिकांश क्षेत्रमा आवेदन आएका छन्, कृषि, सूचना प्रविधि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रहरूबाट उल्लेख्य सहभागिता देखिएको छ ।
उनले देशव्यापी सहभागितालाई कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे । “सातै प्रदेश र अधिकांश जिल्लाबाट आवेदन आएको छ, जसले यो कार्यक्रमप्रतिको आकर्षण र सम्भावना दुवै देखाउँछ,” उनले प्रशासनसँग भने ।
प्रतिष्ठानले उद्यमीलाई केवल वित्तीय सहयोग मात्र नभई ‘इन्क्युबेसन’ र ‘मेन्टोरिङ’मार्फत पनि सहजीकरण गरिरहेको जनाएको छ । सातै प्रदेशमा सार्वजनिक-निजी साझेदारीमा सञ्चालन भएका बिजनेस इन्क्युबेसन सेन्टरमार्फत उद्यमीलाई परामर्श, तालिम र नेटवर्किङ सुविधा उपलब्ध गराइँदै आएको छ ।
“इन्क्युबेसन सेन्टरबाट तयार भएका उद्यमीलाई बजारमा टिक्न सहयोग पुग्छ, त्यसैले मेन्टरिङ र कोचिङलाई प्राथमिकतामा राखिएको छ,” उनले बताए ।
उनका अनुसार, स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउन ‘ट्रिपल हेलिक्स मोडल’–सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्य महत्वपूर्ण आधारका रूपमा अघि सारिएको छ ।
भविष्यका योजनातर्फ संकेत गर्दै उनले स्टार्टअप कोष स्थापना, ‘फ्याब्रिकेसन ल्याब’ (मेकर्स स्पेस) विकास र इकोसिस्टममा दोहोरिने कार्यक्रम घटाउने दिशामा काम भइरहेको बताए ।
“स्टार्टअप कोष स्थापना, प्रोटोटाइप विकासका लागि मेकर्स स्पेस र साझेदार संस्थासँग समन्वय गरेर इकोसिस्टम बलियो बनाउने दिशामा काम भइरहेको छ,” उनले उल्लेख गरे ।
गुप्ताले रोजगारी सिर्जनालाई कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा औंल्याएका छन् । उनका अनुसार, हालसम्म कर्जा पाएका उद्यमीहरूले औसतमा प्रत्येकले करिब पाँच जनासम्म रोजगारी सिर्जना गरेका छन् ।
त्यस्तै, कर्जा फिर्ता दर पनि सकारात्मक रहेको उनले जानकारी दिए । “कर्जा फिर्ता हुने दर राम्रो देखिएको छ, जसले कार्यक्रमको प्रभावकारिता पुष्टि गर्छ,” उनले बताए ।
यद्यपि, उनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन बजेट वृद्धि, कानुनी सुधार र मानव संसाधन सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे ।
उनका अनुसार, बजेटको आकार उल्लेख्य रूपमा बढाउनुपर्ने, कानुनी प्रावधानहरू परिमार्जन गर्नुपर्ने, दक्ष जनशक्ति र क्षमता विकासमा लगानी बढाउनुपर्ने र कार्यक्रमलाई सबै पालिकासम्म विस्तार गर्नुपर्ने जस्ता विषयहरू आगामी प्राथमिकतामा छन् ।
“उद्यमशीलता नै नेपालको सबैभन्दा ठूलो सम्भावना क्षेत्र हो, विशेषगरी युवालाई लक्षित गरेर इकोसिस्टम बलियो बनाउन सकियो भने यसले रोजगारी सिर्जना र आर्थिक रूपान्तरण दुवैमा योगदान दिन सक्छ,” उनले निष्कर्ष सुनाए ।
नीतिगत सहजीकरण र प्रक्रिया सरलीकरणमार्फत स्टार्टअप कार्यान्वयन सुधार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम प्रवर्द्धन कार्यक्रमलाई नीतिगत र कानुनी रूपमा स्पष्ट तथा संरचित बनाउने प्रयास गरिरहेको जनाएको छ ।
तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार, स्टार्टअप कर्जा कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले नीति, ऐन र नियमावलीमार्फत आवश्यक आधार तयार गरेको छ ।
“स्टार्टअप उद्यम नीति सार्वजनिक गरिएको छ भने औद्योगिक व्यवसाय ऐन, २०७६ र नियमावली, २०७७ मा समेत स्टार्टअप कर्जासम्बन्धी प्रावधान राखेर यसको कार्यान्वयनलाई स्पष्ट बनाइएको छ,” उनले बताए ।
उनका अनुसार, कार्यक्रम कार्यान्वयनको जिम्मेवारी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलाई दिइएको छ र मन्त्रालय–प्रतिष्ठानबीचको समन्वयमै कार्यक्रम सञ्चालन भइरहेको छ । हाल कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरिसकेको छ ।
बस्नेतले कार्यविधिगत सुधारलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै विगतमा देखिएका जटिलता घटाउने गरी प्रक्रिया परिमार्जन गरिएको बताए । “मूल्यांकन प्रक्रियालाई वस्तुनिष्ठ बनाइएको छ र इन्डिकेटरका आधारमा अंक दिने व्यवस्था गरिएको छ,” उनले स्पष्ट पारे ।
उनका अनुसार, मूल्यांकनलाई केन्द्रमा सीमित नराखी प्रदेश तथा स्थानीय स्तरमै पुगेर मूल्यांकन गर्ने व्यवस्था गरिएको छ, जसले उद्यमीलाई काठमाडौँ धाउनुपर्ने झन्झट घटाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, आवेदन प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिएको छ ।“अब आवेदन दिन काठमाडौँ आउनुपर्ने अवस्था छैन, अनलाइनबाटै आवेदन र मूल्यांकन प्रक्रियालाई अगाडि बढाइएको छ,” उनले बताए ।
मूल्यांकन प्रणालीलाई अझ प्रविधिमैत्री बनाउन एआई-आधारित प्रणाली विकासको तयारी भइरहेको पनि उनले जानकारी दिए ।
स्टार्टअप कार्यक्रमको मूल उद्देश्य नवप्रवर्तनशील र सिर्जनात्मक सोच भएका युवालाई लक्षित गर्नु रहेको बस्नेतले उल्लेख गरे ।
“आईटी-आधारित र नवप्रवर्तनशील उद्यमलाई प्राथमिकतामा राख्दै उनीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ,” उनले भने ।
विगतमा लघु तथा साना उद्योगले बढी लाभ लिएको र वास्तविक स्टार्टअप उद्यमी छुटेको भन्ने गुनासोलाई सम्बोधन गर्न नियमावलीमा संशोधन गरी स्टार्टअपलाई छुट्टै पहिचान दिने प्रयास भइरहेको उनले बताए ।
उनका अनुसार, संघीय तथा प्रदेश तहबीचको कानुनी समन्वय अझै आवश्यक रहेको छ । “प्रदेश सरकारका कानुनहरू पनि अद्यावधिक भएपछि स्टार्टअप उद्यमलाई छुट्टै पहिचानसहित लक्षित कार्यक्रम सञ्चालन गर्न सहज हुन्छ,” उनले बताए ।
यसरी, मन्त्रालयले स्टार्टअप कार्यक्रमलाई केवल वित्तीय सहयोगमा सीमित नराखी नीतिगत, प्रक्रियागत र प्रविधिगत सुधारमार्फत थप प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ ।
नवप्रवर्तन र वित्तीय पहुँचमार्फत आर्थिक रूपान्तरणतर्फ सरकारको रणनीति

सरकारले उद्यमशीलता प्रवर्द्धनलाई दीर्घकालीन आर्थिक रूपान्तरणसँग जोड्दै स्टार्टअप तथा नवप्रवर्तनका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु सुदन बुर्लाकोटीका अनुसार, युवालाई नवप्रवर्तनतर्फ आकर्षित गर्दै आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ ।
“स्टार्टअप, नवप्रवर्तन र सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत युवालाई वित्तीय तथा प्रविधिगत सहयोग प्रदान गर्दै उद्यमशीलता विकास गर्न सरकार केन्द्रित छ,” उनले बताए ।
उनका अनुसार, स्टार्टअप कर्जा कार्यक्रमले परम्परागत ‘धितो-आधारित’ वित्तीय प्रणालीलाई केही हदसम्म प्रतिस्थापन गर्दै उद्यमको सम्भावनालाई नै धितोको रूपमा स्वीकार गर्ने अभ्यास सुरु गरेको छ । यसले नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्न सहज बनाएको छ, यद्यपि हालको बजेट अझै सीमित रहेको उनले स्वीकार गरे ।
सचिव बुर्लाकोटीका अनुसार, युवाहरूमा उद्यमप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा स्टार्टअप कर्जाका लागि हजारौँ आवेदन परेको उल्लेख गर्दै उनले कार्यक्रमप्रतिको विश्वास र सम्भावना दुवै बढिरहेको बताए ।
“आवेदनको संख्या उल्लेख्य रूपमा बढेको छ, तर बजेट सीमित हुँदा सबैलाई समेट्न सकिएको छैन,” उनले उल्लेख गरे ।
उनका अनुसार, यस अवस्थालाई सम्बोधन गर्न ‘रिभल्भिङ फन्ड’ (घुम्ती कोष) स्थापना गर्ने तयारी भइरहेको छ, जसमा सरकारी स्रोतसँगै दातृ निकायको लगानीसमेत समेट्ने योजना छ ।
त्यसैगरी, बैंकिङ प्रणालीमार्फत बिना धितो कर्जा प्रवाह गर्न सकिने संरचना विकास गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।
नीतिगत तथा संरचनागत चुनौतीबारे चर्चा गर्दै उनले कानुनी जटिलता उद्यम विस्तारमा मुख्य अवरोधका रूपमा रहेको बताए । “कतिपय व्यवसाय सुरु गर्न धेरै निकायबाट अनुमति लिनुपर्ने अवस्था छ, जसले उद्यमीलाई निरुत्साहित बनाउँछ,” उनले उल्लेख गरे ।
उदाहरणका रूपमा उनले पश्मिना उद्योगसँग जोडिएको च्याङ्रा पालन व्यवसाय उल्लेख गर्दै, कच्चा पदार्थ उत्पादनका लागि आवश्यक भू-उपयोग व्यवस्थापनमा समेत कानुनी सहजीकरण आवश्यक रहेको बताए ।
उनका अनुसार, साना उद्यममार्फत क्रमश: ठूला उद्योगतर्फ रूपान्तरण गर्ने रणनीति आवश्यक छ । “साना उद्यमलाई व्यवस्थित रूपमा विस्तार गर्दै लैजान सके मात्रै दीर्घकालीन औद्योगिकीकरण सम्भव हुन्छ,” उनले भने ।
सचिव बुर्लाकोटीले उद्योग क्षेत्रमा बजेटको न्यूनता पनि प्रमुख चुनौतीका रूपमा औंल्याएका छन् ।
उनका अनुसार, कुल बजेटमा उद्योग क्षेत्रको हिस्सा अत्यन्त कम रहेको र त्यसमा पनि प्रशासनिक खर्च बढी हुँदा उत्पादनमूलक क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको अवस्था छ ।
“उद्योग क्षेत्रमा बजेट वृद्धि नगरी औद्योगिकीकरणको लक्ष्य हासिल गर्न कठिन हुन्छ,” उनले स्पष्ट पारे ।
युवालाई लक्षित गर्दै उनले उद्यमशीलता नै देशभित्र रोजगारी सिर्जना गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । “सरकारले अनुकूल वातावरण निर्माण गर्ने हो, त्यसपछि युवाले आफ्नै सोच र क्षमताका आधारमा व्यवसाय रोज्ने हो,” उनले उल्लेख गरे ।
उनका अनुसार, सहजीकरण, कानुनी सरलता र वित्तीय पहुँच विस्तार गर्न सकियो भने विदेश जाने युवा जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिनेछ ।
अन्तत:, सरकारले स्टार्टअप कार्यक्रमलाई केवल कर्जा वितरणको रूपमा होइन, नवप्रवर्तन, रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडिएको दीर्घकालीन रणनीतिक उपकरणका रूपमा अघि बढाउने तयारी गरेको संकेत दिएको छ ।
नेपालमा स्टार्टअप लहर अब प्रारम्भिक उत्साहको चरण पार गर्दै संरचित आर्थिक आन्दोलनको रूपमा विकसित हुँदै गएको संकेत देखिन्छ । सुष्मा शर्मादेखि नितेश कटुवाल, नशाना बज्राचार्य, क्षितिज ओझा र हाडी बिरयानीका उद्यमी दाजुभाइ पोषण र पुजन नेपालसम्मका कथाहरूले जहाँ समस्या जहाँ छ, त्यहीँ अवसर पनि लुकेको छ भन्ने तथ्य उजागर गरेको छ ।
यी उद्यमहरूले नवप्रवर्तन केवल प्रविधिमा सीमित हुँदैन; यो सोच, दृष्टिकोण र जोखिम लिन सक्ने साहससँग जोडिएको हुन्छ भन्ने उदाहरण पनि देखाएको छ । फोहोर व्यवस्थापनदेखि भ्यालु एडिसन, सामाजिक उद्यमदेखि डिजिटल रूपान्तरण र खाद्य व्यवसायसम्म सबै क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्दै गएको छ ।
तर, यी सम्भावनालाई दिगो परिणाममा रूपान्तरण गर्न नीतिगत सहजीकरण, वित्तीय पहुँच विस्तार, कानुनी सरलीकरण र बजार संरचनाको आधुनिकीकरण अनिवार्य देखिन्छ । सरकारी प्रयासहरू सुरु भइसकेका छन्, तर ती प्रयासलाई अझ व्यापक, प्रभावकारी र समन्वित बनाउनु पर्ने आवश्यकता स्पष्ट देखिन्छ ।
विशेषगरी युवाहरूमा देखिएको बढ्दो आकर्षणले उद्यमशीलता अब विकल्प मात्र होइन, आवश्यकता र अवसर दुवै बनेको संकेत दिन्छ । यदि राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउन सकियो भने, यही स्टार्टअप लहरले रोजगारी सिर्जना मात्र होइन, नेपालको समग्र आर्थिक संरचनालाई पुन:परिभाषित गर्ने क्षमता राख्छ ।
अन्तत: नेपालको भविष्य रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने पुस्ताको हातमा सरेको छ र त्यसको आधार बनेको छ स्टार्टअपको यो उदाउँदै गरेको आन्दोलन ।
हेर्नुहोस् भिडियो:
फिल्ड रिपोर्टिङ : गोविन्द खत्री | फोटो : सत्य नारायण श्रेष्ठ, सुजन दाहाल







