काठमाडौँ। एएफसी एसियन कप २०२७ एसियन छनोट अन्तर्गत नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्दैछ। तेस्रो चरण छनोटको अन्तिम खेलमा नेपाल न्यु लाओस नेशनल स्टेडियममा लाओसविरुद्ध भिड्न लागेको हो।
खेल नेपाली समयानुसार बेलुका पौने ६ बजेबाट सुरु हुनेछ। यस खेलबाट मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपालको प्रशिक्षकमा डेब्यू गर्दैछन्।
प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन्। दुवै टोलीको समान पाँच खेलबाट तीन-तीन अंक मात्रै छ। भियतनाम अपराजित रहँदै ५ खेलबाट ५ जितका साथ १५ अंकसहित तालिकाको शीर्षस्थानमा छ।
नेपाल र लाओसबीच हालसम्म ७ खेल भएको छ। जसमध्ये नेपालले तीन खेल जित्दा १ खेल लाओसले जितेको छ भने तीन खेल बराबरीमा टुंगिएको छ। नेपालले १० गोल गर्दा लाओसले ७ गोल गरेको छ। पछिल्लो खेलमा गत वर्ष १० जुनमा भएको खेलमा लाओसले नेपाललाई उसको घरेलु मैदानमा २-१ गोलले हराएको थियो।







