काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको ह्वाट्सएप अकाउन्ट ह्याक भएको पुष्टि भएको छ।
ह्याकरहरूले यस अकाउन्टमार्फत विभिन्न व्यक्तिलाई सन्देश पठाउँदै रकम माग्ने प्रयास गरेको पाइएको छ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले घटनाबारे जानकारी दिँदै, कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइएको र कसैलाई पनि ह्वाट्सएपमार्फत आएको सन्देशमा रकम पठाउन नहुन आग्रह गरेका छन्।
हालसालै सामाजिक सञ्जाल र सन्देश एप ह्याक गरेर ठगी गर्ने गिरोह सक्रिय भएको देखिएको छ। सचिवालयले नागरिकलाई सतर्क रहन र अनधिकृत सन्देशमा वित्तीय जानकारी साझा नगर्न सचेत गरेको छ।







