काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद तथा पूर्वमन्त्री महावीर पुनले देशमा बढ्दो बेरोजगारी र प्रतिभा पलायन नियन्त्रण गर्न विशेष प्रकृतिको नवप्रवर्तन मन्त्रालय स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले देशका दक्ष तथा प्रतिभाशाली युवालाई विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै उद्यमशीलता विकास गराउन यस्तो मन्त्रालय आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारलाई संस्थागत रूपमा अघि बढाउन अलग संरचना र स्पष्ट नीतिगत प्राथमिकता जरुरी छ।
पुनले नवप्रवर्तनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १ प्रतिशत बजेट अनुसन्धान, आविष्कार र नवप्रवर्तनका क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव पनि दिएका छन्। पर्याप्त लगानी बिना दीर्घकालीन आर्थिक विकास सम्भव नहुने उनको तर्क छ।
उनका अनुसार यस्ता नीतिगत पहलमार्फत देशभित्रै अवसर सिर्जना गरी युवा शक्तिलाई उपयोग गर्न सकिने र त्यसले समग्र अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ।







