काठमाडौँ । अवैध रूपमा विदेशी मुद्रा ओसारपसार गरेको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरिएको जाँचका क्रममा उनीहरूको साथबाट २८ हजार ९ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा अनिता लामा, सङ्गीता लामा र विनोद लामा रहेका छन्।
प्रहरीका अनुसार अनिता लामाको साथबाट १० हजार अमेरिकी डलर, सङ्गीता लामाको साथबाट १० हजार अमेरिकी डलर र विनोद लामाको साथबाट ८ हजार ९ सय अमेरिकी डलर फेला परेको हो।
उनीहरू आज बिहान करिब पौने १२ बजे चाइना साउदर्न एयरलाइन्सको उडानमार्फत चीनको ग्वान्झाउ प्रस्थान गर्ने क्रममा रहेका थिए। सोही क्रममा विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियामा गरिएको शरीर तथा सामानको खानतलासी र स्क्रिनिङका क्रममा नगद रकम फेला परेपछि नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।







