काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमहरू सहित सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह-२०८२ सम्पन्न भएको छ ।

नेपाली सेनाले आयोजना गरेको घोडेजात्रा समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुख, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारी, सैनिक तथा गैर सैनिक व्यक्तित्व, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

घोडेजात्रा नेपाली सेनाले घोडाका विविध कला-कौशल प्रदर्शन गरेको थियो। सैनिक व्याण्डहरूले विभिन्न धुन प्रस्तुत गरेका थिए भने घोडाहरूद्वारा आकर्षक शो जम्पिङ प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनका क्रममा घोडाहरूले विभिन्न पर्खाल नाघ्दै साहसिक कला देखाएका थिए।

क्रस टेन्ट पेगिङअन्तर्गत सैनिकहरूले घोडाको सहायतामा शत्रुका टेन्ट भत्काउने शैली प्रस्तुत गरेका थिए भने घोडा दौड पनि आयोजना गरिएको थियो। यसैगरी, तालिम प्राप्त कुकुरहरूको प्रस्तुति दर्शकका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।



कार्यक्रम समापनपछि प्रमुख अतिथि राष्ट्रपतिले शो जम्पिङतर्फ प्रथम र द्वितीय हुने सहसेनानी प्रविन लामिछाने र जमदार रामबहादुर दाहाल तथा टेन्ट पेगिङतर्फ प्रथम र द्वितीय हुने सहसेनानी विकल्प थापा र सिपाही सन्तोष भण्डारीलाई पुरस्कार प्रदान गरे।







