काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा पुथा उत्तरगंगा गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको वस्तुगत मूल्यांकन अनुसार पुथा उत्तरगंगाले ६३.९७ अंक हासिल गर्दै अन्य पालिकाभन्दा अगाडि रहेको छ। सोही मूल्यांकनमा भूमे गाउँपालिका ६३.६३ अंकसहित दोस्रो स्थानमा रहँदा सिस्ने गाउँपालिका ६०.७७ अंकसहित तेस्रो स्थानमा सीमित भएको छ।
आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि भूगोल, जनसंख्या, मानव विकास सूचक, सेवा प्रवाह, वित्तीय अनुशासनलगायत १७ वटा सूचक प्रयोग गरेको जनाएको छ। यही आधारमा आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान तथा अन्य वित्तीय हस्तान्तरणको परिमाण निर्धारण हुने संवैधानिक व्यवस्था छ।
भौगोलिक रूपमा दुर्गम मानिने पुथा उत्तरगंगाले सीमित स्रोतसाधनका बाबजुद कार्यसम्पादनमा उल्लेखनीय सुधार गर्दै अग्रस्थान हासिल गरेको देखिएको छ। विगतमा प्रतिस्पर्धी रहँदै आएका भूमे र सिस्ने यसपटक भने पछाडि परेका छन्।
उक्त मूल्यांकनले विशेष गरी वित्तीय अनुशासन र बजेट कार्यान्वयनको अवस्थालाई प्राथमिक आधार बनाउँदै स्थानीय तहहरूको आन्तरिक सुशासनको अवस्था समेत प्रतिबिम्बित गरेको छ।







