काठमाडौँ । काठमाडौँ निर्वाचन-५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने संकल्पको जनमतका रूपमा लिएको बताएका छन् ।
सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका-३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरू देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट गरेका छन् । उनले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताए ।
नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौँ-५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गरेका छन् ।







