काठमाडौँ । नेपाल प्रहरीले नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई घटनामा संलग्न रहेको आशंकामा शुक्रबार पक्राउ गरिएको हो।
बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराहीतर्फ आउने क्रममा आयोजित स्वागत कार्यक्रममा भीडभाडबीच केही व्यक्तिले एमालेको झण्डा जलाएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
प्रहरीका अनुसार उक्त घटनाबारे अनुसन्धान गर्ने क्रममा संलग्नताको पहिचानका आधारमा बस्नेतलाई नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







