काठमाडौँ । २४.१५ ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षका रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका-४ घर भई पोखरा-११ जनजागृती टोल बस्ने ४४ वर्षका विश्वास गुरुङ र म्याग्दीको मालिका गाउँपालिका-६ घर भई पोखरा-३१ मोहरिया बस्ने ४१ वर्षका गंगा पुर्जा लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनापछि नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूको शरिरसँगै घरकोठामा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको ब्राउन सुगर २४.१५ ग्राम, डिजिटल तराजु एक थान, एक लाख ४२ हजार नगद, चार थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।







