काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्ने निर्णय गरेका छन्।
माघ ६ गते स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका माण्डव्यले पछि उक्त मनोनयन फिर्ता लिएका थिए। मिश्रको सचिवालयका अनुसार माण्डव्यले उम्मेदवारी फिर्तासँगै राप्रपा प्रत्याशीलाई औपचारिक समर्थन जनाएका हुन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत माण्डव्यले आफ्नो निर्णय सार्वजनिक गर्दै मिश्रको पक्षमा समर्थन रहने स्पष्ट पारे। उनले आफू राप्रपाको सदस्य नरहेको उल्लेख गर्दै समर्थनलाई व्यक्तिगत राजनीतिक निर्णयका रूपमा व्याख्या गरेका छन्।
उक्त अवसरमा माण्डव्यले मिश्र निर्वाचित भई संघीय संसद् पुगे राष्ट्रिय पोशाकमा उपस्थित हुन सुझावसमेत दिएका थिए।







