काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नं ७ का २२ वर्षीया ललितासिंह ठकुरी, नरहरिनाथ गाउँपालिका-९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका-७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् ।
पक्राउ परेका आरोपितहरूको साथबाट एक ग्राम ५६० मिलीग्राम लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए ।
उनले भने, “स्थानीयले वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा लागु औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनामा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो । खानतलासी गर्दा लागुऔषध नै भेटियो ।”
उनीहरूका साथबाट नाइट्राजेपाम ३१ ट्याब्लेट फेलापरेको बताउँदै प्रहरीले पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
त्यसैगरी, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त नौगाड गाउँपालिका-२ का २७ वर्षीय भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौँ जिल्ला वडा एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी सुर्खेत प्रहरीमा ल्याई उक्त मुद्दामा ठगुन्नालाई अनुसन्धान थालिएको जनाइएको छ ।







