काठमाडौँ । अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को नाम परिवर्तन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधायन व्यवस्थापन समितिसँग समय माग गरेको छ ।
बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकमा विधेयकको नाममा सहमति जुट्न नसक्दा मन्त्रालयले समय मागेको हो । सांसदहरूले विधेयकको शीर्षकमा ‘अभौतिक’ को ठाउँमा अमूर्त लेख्नुपर्ने माग राखेका छन् ।
नेपाली भाषा, संस्कृतिको महत्त्व अतुलनीय रहेकाले कानूनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किने गरी नाम राख्नुपर्ने सांसदहरूको धारणा छ ।
बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी साहले अभौतिकको ठाउँमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक राख्दा उपयुक्त हुने धारणा राखिन् ।
बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले नामको बारेमा निर्णय गर्न सरकारले समय माग गरेको भन्दै दफावार छलफल अगाडि बढाइन् ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको व्यवस्था हुनुपर्ने धारणा राखिन् ।







