काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास संकलन नगर्न आग्रह गरेको छ। पछिल्ला दिनमा ग्यास अभाव भएको भन्दै फैलाइएका सूचनाहरू यथार्थमा आधारित नरहेको निगमको दाबी छ ।
निगमले हाल देशमा मागअनुसार मात्र होइन, त्यसभन्दा बढी मात्रामा एलपी ग्यास आपूर्ति भइरहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार नेपालमा दैनिक करिब ९० बुलेट, अर्थात् करिब १ लाख १४ हजार सिलिन्डर ग्यास आवश्यक पर्छ। तर पछिल्लो शनिबारदेखि मंगलबारसम्म कुल ३६५ बुलेट ग्यास लोडिङ भइसकेको छ।
मंगलबार मात्र भारतबाट १ लाख ६३ हजार ३ सय सिलिन्डर ग्यास आयात भएको जानकारी दिँदै उनले केही बुलेटहरू मार्गमै रहेकाले ती पनि छिट्टै नेपाल प्रवेश गर्ने बताए। निगमका अनुसार आयात र आन्तरिक वितरण दुवै प्रक्रिया नियमित रूपमा अघि बढिरहेको छ।
डा. भट्टले सामाजिक सञ्जालमार्फत फैलिएका अप्रमाणित सूचनाका कारण उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्दा कृत्रिम दबाब सिर्जना भएको उल्लेख गरे। उनले निर्वाचनको अवधिमा समेत ग्यास आपूर्ति निरन्तर र पर्याप्त रहने स्पष्ट पार्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे।
केही दिनयता ग्यास अभावको आशंकामा उपभोक्ताहरू वितरण केन्द्रमा लामो लाइनमा उभिन थालेको पृष्ठभूमिमा निगमले आपूर्ति व्यवस्थापनमा कुनै समस्या नरहेको पुनः स्पष्ट गरेको छ।








