काठमाडौँ । भक्तपुरस्थित बाल सुधार गृहमा रहेका १८ वर्ष उमेर नाघेका बालबन्दीहरूलाई अन्यत्र सार्ने सरकारी निर्णय कार्यान्वयनमा ल्याइएको छ।
सोही क्रममा ७५ जना बालबन्दीलाई नुवाकोटमा रहेको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको सम्बन्धित निकायले जनाएको छ।
गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले बाल सुधार गृहमा रहेका उमेर पूरा भइसकेका बालकलाई केन्द्रीय कारागार कार्यालय नुवाकोटमा सार्ने निर्णय गरेको थियो।
उक्त निर्णय कार्यान्वयनका लागि माघ ९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति गरेको थियो।
कारागार व्यवस्थापन विभागले प्रारम्भिक रूपमा ७६ जनाको स्थानान्तरण स्वीकृत गरेकोमा एक जना स्वास्थ्य समस्याका कारण समावेश हुन नसकेपछि बाँकी ७५ जनालाई मात्र सारिएको हो।
सरकारले सुधार गृहमा बाँकी रहेका थप ६७ जना बालबन्दीलाई समेत चरणबद्ध रूपमा स्थानान्तरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।







