काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक सय ३३ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ३२ रन बनायो ।
जसमा संगीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले दुई-दुई विकेट झारे ।
छ खेलबाट छ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छ । यदि यो खेल जनकपुरले जितेमा अंकतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अंकमात्र छ । जितेको खण्डमा चार अंक हुनेछ । त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अंकका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ ।
मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।







