काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताएका छन् ।
आज जोमसोममा आयोजित पार्टीको प्रथम जिल्ला भेलामा उनले आफ्नो पार्टी सरकारमा गए यहाँको विकासका लागि प्राथमिकताका साथ काम गर्ने बताए ।
कार्यवाहक सभापति अर्यालले रु. तीन अर्बभन्दा बढी राजस्व संकलन गरिसकेको कोरलानाकामा पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए । उनले यहाँका व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मीका लागि शौचालय, खानेपानी लगायत आधारभूत पूर्वाधार तत्काल निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।







