ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका-४ तेम्बा बजारमा मंगलवार राति ११:३० बजेतिर भीषण आगलागी भएको छ। स्थानीयले जानकारी गराएपछि मिति बुधवार ३ बजे प्रहरी चौकी साँवामा खबर पुगेको थियो। त्यसपछि प्रहरी नायब निरीक्षक ख्याम बहादुर श्रेष्ठको कमाण्डमा टोली राति १ बजे घटना स्थल पुगेको र नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा निरन्तर प्रयासपछि बिहान ५:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले प्रशासनलाई बताए ।
आगलागीको कारण भने अहिलेसम्म नखुलेको र यस घटनामा कुनै मानविय क्षति नभएको पुष्टि गरिएको छ। आगलागी भएको स्थान प्रहरी चौकी साँवाबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ।

आगलागीले तेम्बा बजारका चार घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। इन्द्र कुमार लिम्बुको ढुङ्गामाटोले बनेको ३ तले घर जलेको र घरभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा, २ तोला सुन, नगद २ लाख, किराना पसलका सामग्री पूर्णरूपमा नष्ट भएका छन्। सोही घरमा दोर्ची शेर्पाले भाडामा राखेको २५ मन अलैंची तथा १० वटा कुखुरा पनि जलेर नष्ट भएको छ। यस घरमा मात्रै करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ र घरमा बस्ने चारै जना सकुशल रहेका छन्।
यस्तै, राज कुमार लिम्बुको ढुङ्गामाटोको ३ तले घर पनि पूर्णरूपमा जलेको छ। घरभित्रका सामग्रीसँगै ४ तोला सुन, १५ तोला चाँदी, २ लाख नगद, किराना पसलका सामान, १२ कुखुरा जलेका छन्। घर अगाडि पार्किङ गरिएको २२० सीसीको पल्सर मोटर साइकल-मे १० प ८२४६) समेत जलेको छ। यस घरमा झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ र घरमा रहेका चारै जना सुरक्षित छन्।
अनिल लिम्बुको ढुङ्गामाटोको ३ तले घर पनि पूर्णरूपमा जलेको छ। घरभित्र रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, २ तोला सुन, १ तोला चाँदी, ३ लाख नगद, किराना सामग्री तथा २२ वटा कुखुरा जलेर नष्ट भएका छन्। यस घरको अनुमानित क्षति करिब २० लाख रुपैयाँ रहेको छ र तीनै जना परिवारका सदस्य सकुशल छन्।

विष्णु प्रसाद लिम्बुको १ तले ढुङ्गामाटो घर पनि पूर्ण रूपमा नष्ट भएको छ। घरभित्रको अन्नपात, भाँडावर्तन, लत्ताकपडा तथा १ लाख नगद जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। परिवारका ६ जना सदस्य सबै सुरक्षित रहेका छन्। सोही क्षेत्रका मे १ ज ३००३ नम्बरको महेन्द्र म्याक्स गाडी र ग ३ च ९८४७ नम्बरको महेन्द्र बोलेरो जीप पनि आगलागीबाट बायाँपट्टि सामान्य रुपमा क्षतिग्रस्त भएका छन्।
मानविय क्षति नभए पनि आर्थिक रुपमा करिब एक करोड रूपैयाँभन्दा बढी नोक्सानी भएको अनुमान गरिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







