काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्रको चरित्र क्रमशः परिवर्तन भइरहेका भए पनि बजारमुखी उदार आर्थिक प्रणालीलाई नै अवलम्बन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले आज आयोजना गरेको ‘डा यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ विषयक बिचार गोष्ठीमा बोल्दै मन्त्री खनालले राजनीतिक तथा नीतिगत अस्थिरता नेपालका लागि दीर्घकालीन चुनौती बनेको उल्लेख गरेका छन् ।
उनका अनुसार विभिन्न कालखण्डमा आन्तरिक–बाह्य, राजनीतिक तथा प्राकृतिक कारणहरूले आर्थिक क्षेत्रमा दबाब सृजना गर्दै आएको छ । उनले भने, “अर्थतन्त्रको चरित्र बदलिँदै गएको छ । औद्योगिक क्षेत्रको योगदान घट्दो रहेकाले सेवा क्षेत्र र अन्य उत्पादनशील क्षेत्र तीव्र गतिले अगाडि बढिरहेका छन् । तर हामीले बजारको स्वतन्त्रता कुण्ठित नगरीकनै अर्थतन्त्रलाई अघि बढाउनु अहिलेको आवश्यकता हो ।”
अर्थमन्त्री खनालले अर्थतन्त्र निराशाजनक अवस्थामा नभएको दाबी गर्दै हाल करिब आठ प्रतिशत कर्जा प्रवाहले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो नीतिगत सामञ्जस्य रहेको उल्लेख गर्दै उनले आर्थिक नीति तथा राजनीतिक व्यवस्थाले समय-समयमा बाटो बिराउने गरेको पनि टिप्पणी गरे ।
डा. यादवप्रसाद पन्तको स्मरण गर्दै उनले पन्तले आन्तरिक अर्थतन्त्रलाई अन्तरराष्ट्रिय संयन्त्रसँग जोड्ने तथा कृषि क्षेत्रलाई उद्योगसँग समन्वय गराउने कार्यमा ऐतिहासिक भूमिका खेलेको बताए ।







