काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले देशमा सुशासन कायम राख्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि गृह मन्त्रालयमा आफ्नो भनाइ राख्दै उनले यस्तो बताएका हुन्।
आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति सचेत र सजग रहेको उल्लेख गर्दै नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था र समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनः स्थापना, आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्ने साथै प्रहरीहरूको मनोबल उच्च राख्नु उत्तिकै जरुरी छ। अपराध, लागूपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका चुनौतीहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न प्रहरी संगठनलाई बलियो र उच्च मनोबलयुक्त बनाउन आवश्यक छ।”
आईजीपी कार्कीले सूचना प्रविधि, अपराध प्रवृत्ति र जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप उच्च क्षमतावान् प्रहरी संगठन निर्माण गर्नु साझा जिम्मेवारी रहेको पनि बताए। साथै, प्रहरीलाई आवश्यक पोषण र सुविधाको व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्ने उनले जोड दिए।







