काठमाडौँ । ओमानले अन्तिम श्रम सम्झौताका पत्र पठाएपछि नेपालले प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध कायम भएको झन्डै ५० वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन पत्र पठाएको हो । नेपाल र ओमानबीच सन् १९७७ (२०३४) मा कूटनीतिक सम्झौता कायम भएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागीय मन्त्रीबाट निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरेको छ । यसका लागि श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीकहाँ पठाइएको छ ।
कार्कीले निर्णय गरेपछि सम्झौतामा हस्ताक्षर गर्न अनुमतिका लागि मन्त्रिपरिषदमा पेस गरिने श्रम मन्त्रालयले जनाएको छ ।
ओमानले नेपालबाट पठाइएको मस्यौदा ठिक छ भनेर आएको र मन्त्रिपरिषदबाट स्वीकृति तयारीमा रहेको बताइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि हस्ताक्षर प्रक्रिया अघि बढ्ने छ ।
सरकारले स्वीकृति दिएपछि सम्झौताका लागि नेपालले ओमानलाई पत्राचार गर्ने छ । त्यसपछि ओमानले हस्ताक्षर गर्ने अधिकारी तोक्ने छ । अनि, दुई देशबीच सम्झौतामा हस्ताक्षर हुने छ ।







